प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सुनुवाइ हुँदै

२०७९ पौष २२, शुक्रबार ०३:५२ बजे

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिएको छ ।

लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा स्वतः खारेज भइसकेको नागरिकता प्रयोग गरी दल दर्ता गरेको, निर्वाचनमा सहभागी भएको लगायतका आरोप लगाएर युवराज पौडेल (सफल) लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

नागरिकता ऐन अनुसार ती काम कारवाही अमान्य घोषित गरी दर्ता गरेको दल, सभापतिको पद र निर्वाचित पदसमेत अमान्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । गत मंसिर २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको उक्त रिट पुष ६ गते संवैधानिक इजलासको पेसीमा चढ्दा विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि छलफलमा बोलाएको थियो ।