प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक लिटर पानीको १६ रुपैयाँ भन्दा बढी लिए कारबाही गरिने

२०७९ आश्विन २५, मंगलबार १४:२५ बजे

काठमाडौं – १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ। विभागले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाएपछि व्यावसायीलाई बोलाएर सम्झाएको हो।

काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ। व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन्। जारको पानीमा ५० देखि ६० रुपैँया असुल गर्दै आएका छन्।

यस्तै हेटौंडामा एक लिटर(बोतल)को पानी २० देखि ३० रुपैयाँसम्म लिने गरेको छ । जारको पानीमा ७० देखि ८० रुपैँया असुल गर्दै आएका छन्।

विभागले सोमबार पानी उत्पादक तथा बिक्रेताहरुलाई बोलाएर मनलाग्दी पानी बिक्री नगर्न भनेको थियो। यस्तै व्यावसायीहरुले २० लिटरको जार भनी १९ लिटरको जार बनाएर बिक्री गर्ने गरेको पनि देखिएको छ।

पानीको गुणस्तर पुगे/नपुगेको जारको गुणस्तर भए/नभएको विषयमा विभागले अनुगमन समेत सुरु गर्ने भएको छ।

पानीको मूल्य र गुणस्तको विषयमा विभाग गम्भिर बनेको विभागका महानिर्देशक महेश भट्टराईले बताए। महानिर्देशक भट्टराईले भने ‘पानीको मूल्य र गुणस्तरको विषयमा व्यावसायीहरुलाई सजग बनाएका छौं, यससँगै अनुगमनलाई पनि अघि बढाउने तयारी गरेका छौं।’

पानीको मूल्यको विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी पानीको मूल्य तोकि लागू गर्न निर्देशन दिएको छ। सो मूल्य लागू गर्न विभागले आग्रह गरेको हो।

जसअनुसार उपत्यका बाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ।