प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रिय सभा निर्वाचन: बागमती प्रदेशमा ३३७ जना मतदाता, मतदान केन्द्र हेटौंडाको भुटनदेवी मावि

२०८० पौष २१, शनिबार ०९:५७ बजे

हेटौंडा – आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने क्रममा शुक्रबार यहाँ सर्वदलीय बैठक बसेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सर्वदलीय बैठकमा माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेबारेमा छलफल भएको हो ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले बैठकमा निर्वाचनको तयारीका बारेमा जानकारी गराउनुका साथै उम्मेदवार मनोनयनका लागि राजनीतिक दलहरूलाई उपलब्ध गराउने समय तय गरिएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको दल दर्ताका आधारमा नै दलहरूले उम्मेदवारी मनोनयन गर्ने गरी तय भएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दललाई आधा घण्टाको समय निर्धारण गरेको बताउँदै उनले यही पुस २३ गते सबैभन्दा पहिले बिहान १०ः३० बजे नेकपा एमालेलाई ११ः०० बजे नेपाली कांग्रेसलाई बिहान ११ः३० बजे नेकपा माओवादी केन्द्रलाई र त्यसपछि क्रमशः अन्य दलले उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन कार्यक्रमको समय तय भएको बताउनुभयो । यसैबिच राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार शुक्रबार नै मतदाता नामावली प्रकाशन गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी आचार्यले ३३७ जना मतदाताको नामावली प्रकाशन गरेको बताउँदै मतदाता नामावलीमाथि दाबीविरोध गर्ने समय आजलाई रहेकोमा कसैको पनि दाबीविरोध नपरेको बताए ।

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११० जना प्रदेश सभा सदस्य र बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी २३८ जना हुनुपर्नेमा एक जनाको पद रिक्त रहेकाले २३७ गरी कुल ३३७ जनाको मतदाता नामावली हेटौंडा उपमहानगरपालिका ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ। दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त रहेको जनाइएको छ ।

यसैबिच निर्वाचन आयोग, नेपालले मकवानपुर जिल्ला अदालतका न्यायाधीश कार्कीलाई सोमबारबाट लागु हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरेकोमा न्यायाधीश कार्कीले असमर्थ रहेको जनाएपछि उनको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोग नेपालले मकवानपुरका जिल्ला न्यायाधीश श्रीप्रसाद सन्जेललाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । हेटौंडामा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तय गरिएको छ ।गोरखापत्र दैनिकबाट