प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा

२०८१ पौष ११, बिहीबार ०८:४९ बजे

दैलेख – दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा जारी पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भइसकेको छ, भने अब ७० मिटर मात्र खन्न बाँकी रहेको छ।

गत वैशाख २८ गतेबाट सुरु भएको यो परियोजनाको ड्रिलिङ यसै महिना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार तोकिएको समयभित्र काम सम्पन्न गर्ने तयारी भइरहेको छ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, र जिओ केमिकल स्याम्पलिङ जस्ता अध्ययन कार्य तोकिएकै समयमा सम्पन्न गरेको थियो। ड्रिलिङको काम पनि निर्धारित समयभन्दा अगावै सकिने अपेक्षा गरिएको छ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा कार्यान्वयन भइरहेको यो परियोजनाका लागि भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ४५ रोपनी जमिन अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको टोलीले संयुक्त रूपमा अन्वेषण कार्यमा संलग्न छन्।

परियोजनामा खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे, र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी सक्रिय रूपमा काम गरिरहेका छन्। पेट्रोलियम पदार्थको खोजी सफल भएमा यसले देशको ऊर्जा क्षेत्रलाई ठूलो योगदान दिने अपेक्षा गरिएको छ।