प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गृहमन्त्रीद्वारा बाढीले पुर्याएको क्षतिबारे जानकारी

२०८२ असार २५, बुधबार १८:२० बजे

मकवानपुर । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले बाढीले पुर्याएको क्षति, उद्धार र राहतबारे जनाकारी गराएका हुन् ।

उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे खोला हुँदै भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए ।

उनले घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएका छन् भने हालसम्म धादिङको त्रिशूली किनारमा २ शव फेला परेको उनले जानकारी दिए ।

त्यस्तै उनले रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको भन्दै नुवाकोटस्थित विदुरमा त्रिशूलीमा दायाँ खुट्टा नभएको पुरुषको शव फेला परेको तथा वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको बताए ।

मन्त्री लेखकले भरतपुरमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको बताए ।

उनले बाढीले मितेरी पुल बगाएको, आवतजावत पूर्ण रुपमा बन्द भएको, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको जानकारी दिंदै सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सारबाट २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको बताए ।

उनका अनुसार रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको भने संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको बताए । उनले ३० जनाको हवाई उद्धार गरेको जानकारी दिए ।