हेटौंडा – हेटौंडामा ‘वाग्मती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू) र हेटौंडा उपमहानगरपालिका–१८ को संयुक्त आयोजनामा कराते प्रतियोगिता हुने भएको हो ।
हेटौंडा–१८ को ठूलोदमारस्थित मकवानपुर बाल विद्या सदनमा फागुन ६ गतेबाट प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघका सदस्य एंव कार्यक्रम संयोजक सुर्दसन खतिवडाले प्रतियोगिता बारे जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ३५ केजी, ५० केजी र ५५–६० मुनी तौल समूहमा र महिलातर्फ ४५ केजी र ५५ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा हुने खतिवडाले बताए ।
प्रतियोगितामा प्रदेश भरिका करिब १ सय ५० खेलाडीको सहभागिता रहने छन् । प्रतियोगितामा स्वर्ण जित्नेले नगद १० हजार, रजत जित्नेले नगद ५ हजार र कास्य पदक जित्नेले नगद २ हजार ५ सयसहित प्रमाण प्राप्त गर्नेछन् ।
हेटौंडा–१८ का वडाध्यक्ष अनिलकुमार बाँनियाले करिब २२ वर्षपछि हुन लागेको प्रतियागितालाई आउँदो वर्षहरुमा पनि निरन्तरता दिन वडाले सहयोग गर्ने बताए । उनले प्रतियोगिताले बालबालिका देखि युवासम्मलाई खेलकुदमा समावेश गर्न र सही दिशामा मार्गनिर्देश गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ गर्ने तय भएको छ । प्रतियोगितामा करिब ७ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
पत्रकार सम्मेलनमा खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, पूर्वअध्यक्ष सानु लामा, संघका अध्यक्ष भिम लामा लोप्चन लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।