हेटौंडा – तीन दिनदेखि बेपत्ता मकवानपुरको इन्द्रसरोबार गाउँपालिकाकी एक वृद्धा महिला मृत फेला परेकी छन् । इन्द्रसरोबार गाउँपालिका वडा नं.२ बस्ने ९१ बर्षीया पुतली माया घलान मृत भेटिएकी हुन् । उनी गत भदौ ३० गतेदेखि इन्द्रसरोबार गाउँपालिका वडा नं.३ स्थित छोरीको घरबाट हराएकी थिइन् ।
उनको खोजी कार्यका लागि आफन्तहरुले प्रहरी चौकी सिस्नेरीमा आग्रह समेत थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोजतलास गर्दै जाने क्रममा इन्द्रसरोबार गाउँपालिका वडा नं.३ ठुलोटारस्थित भिरमा लडेको अवस्थामा घलान मृत फेला परेकी हुन् ।
करिब २०० मिटर तल भिरमा रहेको शवलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिपद ब्यबस्थापनको टोलीले निकालेको हो ।उनको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।