हेटौंडा – मकवानपुरमा हालैसम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले सोमबार एक कार्याक्रम आयोजना गरी दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यलाई विजयी प्रमाणपत्र वितरण गरेको हो ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले मकवानपुर क्षेत्र नं.१ का संघीय सांसद दिपक बहादुर सिंह, २ का महेश कुमार बर्तौलालाई प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै मकवानपुर क्षेत्र नं.१ (क)का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, (ख)का एकालाल श्रेष्ठ, क्षेत्र नंं.२(क)का कुमारी मोक्तान र (ख) इन्द्र बहादुर बानियाँलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रमाणपत्र वितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको थियो । मुख्य निर्वाचन अधिकृत निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिब मुकुन्द निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो ।