काठमाडौं- वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौं रुपियाँ ठगी गर्ने दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सर्विया पठाउने भन्दै चार लाख रुपियाँ ठगी गरी सम्पर्कविहीन भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली स्थायी घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको हो।
त्यस्तै, अमेरिका पठाउने बहानामा दुई लाख १७ हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन बनेकी नुवाकोट विदुर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको कलंकी बस्दै आएकी ३६ वर्षीया पुन्यवती जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको र उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्तिहरूको पहिचान र पक्राउका लागि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।