काठमाडौं – भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लामा ट्रकले रोकिराखेको बसलाई ठक्कर दिँदा चार नेपाली यात्रुको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार ६० नेपाली आप्रवासी कामदार बोकेर गोवा जाँदै गरेको बसको एउटा टायर रामनगर थाना क्षेत्र अन्तर्गतको महंगुपुर गाउँमा पन्चर भएको थियो ।
बसका चालकले सडक छेउमा गाडी पार्क गरेर टायर फेर्ने क्रममा पछाडिबाट आएको तिब्रगतिको ट्रकले गाडीलाई ठक्कर दिएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार ६० यात्रुमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा प्रेम थारु, शीतल थारु, चक्रबहादुर एक जनाको सनाखत हुन सकेको छैन ।
घाइतेहरूलाई उपचारको लागि बाराबंकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । जहाँ डाक्टरहरूले घाइतेमध्ये छ जनालाई लखनउको केजीएमयू ट्रमा सेन्टरमा पठाएको जनाएको छ ।
बाँकी यात्रु सकुशल छन् । उनीहरुलाई नेपाल फर्काउने प्रक्रियामा रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।