दार्चुला – आज बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका–६ स्थित बकजेबलामा तिर्थालु सवार म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा पर्दा ८ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा ६ जनाको घटनास्थलमै र थप दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए।
मृतकहरूमा शैल्यशिखर–५, लेकगाउँ निवासी ३० वर्षीय बिरेन्द्र रावल, उनकी २८ वर्षीया श्रीमती शान्ती रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, र बैतडीको डिलासैनी गाउँपालिका–५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्। घटनामा मृत्यु भएका अन्य दुई जना भारतीय नागरिक, उत्तर प्रदेशका मोहम्मद सालीर र मोहम्मद बसीम, रहेका छन्।
घटनाको समयमा जिप लगभग ३०० मिटर तल भीरबाट खसेर रुखमा अड्किएको थियो। जिप मालिकार्जुन जात्राबाट गोकुलेश्वर तर्फ गइरहेको थियो, जसमा तिर्थालुहरू सवार थिए। घाइते चार जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डीएसपी दाहालले बताए।