प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशका उम्मेदवारले कति खर्च गर्न पाउने ?

२०७९ कार्तिक २, बुधबार ०४:१५ बजे

हेटौंडा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार बागमती प्रदेशका उम्मेदवार र दलहरूले सबैभन्दा कम खर्च गर्न पाउने भएका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्यका सबैभन्दा कम खर्च सीमा २५ लाख रुपियाँ तोकिएको छ । आयोगले तोकेको खर्चको उक्त सीमाभित्र रहेर काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३, ६, ७ र ८ का उम्मेदवारले खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार दलका उम्मेदवारहरूले उक्त सीमाभित्र रहेर मात्र खर्च गर्नुपर्नेछ । यस्तै यस प्रदेशमा अधिकतम २७ लाख रुपियाँ खर्च गर्न पाउने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रसुवा, काठमाडौँको क्षेत्र नं. २, ४, ५, ९ र १०, भक्तपुर २ र ललितपुरका तीनै वटै निर्वाचन क्षेत्र रहेका छन् ।

आयोगले निर्धारण गरेको खर्चको सीमा २९ लाख रुपियाँ खर्च गर्न पाउने बागमती प्रदेशका जिल्लाहरूमा नुवाकोटको क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं.१ र चितवनको क्षेत्र नं. २ रहेका छन् । आयोगले सिन्धुली, धादिङ, सिन्धुपाल्चोक सबै निर्वाचन क्षेत्र, नुवाकोटको क्षेत्र नं.१ तथा चितवनको क्षेत्र नं. १ र ३ मा उम्मेदवारले प्रति उम्मेदवार ३१ लाख रुपियाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

आयोगले निर्धारण गरेको सबैभन्दा बढी खर्चको सीमा अर्थात् ३३ लाख रुपियाँ खर्च गर्न पाउने उम्मेदवार तथा दलहरूमा दोलखा, रामेछाप, मकवानपुर र काभ्रेपलाञ्चोकका सबैक्षेत्रका उम्मेदवार तथा दलहरू रहेका छन् । आयोगले निर्वाचन क्षेत्रमा रहेको मतदाता सङ्ख्या, मतदान केन्द्र सङ्ख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफलका आधारमा उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको जनाएको छ ।

३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा १७ लाख ३३ हजार ३७८ महिला, १७ लाख ३८ हजार ८७ पुरुष र अन्य २७ गरी आगामी मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेका कुल मतदाता ३४ लाख ७१ हजार ४९२ जना छन् । यस प्रदेशमा एक हजार ८१२ मतदान स्थल र चार हजार १४३ मतदान केन्द्र छन् ।गोरखापत्र दैनिकबाट