प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा गोली प्रहार गरी १ करोड माग, संलग्न तीन जना सार्वजनिक

२०८० मंसिर २३, शनिबार १७:०७ बजे

हेटौंडा – बामगती प्रदेशको राजधानी हेटौंडामा एक व्यक्तीको घरमा गोली प्रहार गरी एक करोड फिरौती माग्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन आयोजन गरी संलग्न हेटौंडा–९ का ३३ बर्षीय निश्चल पौडेल, ३५ बर्षीय गणेश घले र ३० बर्षीय प्रितम क्षेत्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले गत मंसिर १८ गते रातको समयमा हेटौंडा–९ स्थित सुर्य प्रसाद पौडेलको घरमा गोली प्रहार गरेका थिए । पौडल परिवारका अनुसार पटक–पटक गरी करिब आधा दर्जन बढी गोली प्रहार भएको थियो ।

उक्त घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सीताराम रिजाल सहितको टोली घटनाको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा घटनास्थलको क्षेत्रबाट पेस्तोलको गोली, प्रहार भएको गोलीका खोका बरामद गरेको थियो ।

घटनास्थल क्षेत्रको सीसी क्यामेराको फुटेजको आधारमा उनीहरुलाई पहिचान गरी हेटौंडा उपमहानगरपालिका वडा नं.१० बाट तीनै जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उलने घटनाका मुख्य योजनाकार पौडल रहेको पनि बताए । उनकै योजना अनुसार घरमा गोली प्रहार र हिन्दी भाषामा एक करोड फिरौती माग गरिएको एसपी रिजालको दाबी छ ।

उनका अनुसार युवाहरु ठेक्कापट्टादेखि लागुऔषध कारोबारमा समेत संलग्न रहेका छन् । उनीहरुले लागुऔषध कारोबारकै लागि हेटौंडा–४ हुप्राचौर क्षेत्रस्थित एक घरमा डेरा लिएर बस्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

सोही डेराबाट सेमी अटो पेस्तोल एक थान, त्यसमा लाग्ने २० राउण्ड गोली, विभिन्न कम्पनीका ५ थान, पेस्तोल सफा गर्ने रड, लागुऔषध खैरोहिरोइन २ दशमलव ४० ग्राम, लागुऔषध जोख्ने विद्युतिय तराजु, नगद ५० हजार बरामद गरिएको रिजालले जानकारी दिए । उनीहरुले प्रयोग गर्ने ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

जानकारहरुका अनुसार घरमा गोली प्रहार गरी करोड फिरौती माग्ने घटना हेटौंडामा पहिलो पटक भएको हो ।यो घटना आर्थिक लेनदेनको कारण भएको प्रहरीको निष्र्कष छ । यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको एसपी रिजालले बताए ।

पक्राउ परेकालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति दिएर ज्यान, लागुऔषध र हातहतियार सम्बन्धि मुद्दामा अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।