हेटौंडा – विजय महतो कोइरी मकवानपुरको राप्ती खोलामा पौडीको मज्जा लिँदै हुनुहुन्थ्यो । शनिबार भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डी मन्दिरनजिकै रहेको राप्ती खोलाको चिसो पानीमा डुबुल्की मार्दै चिसोको आनन्द लिनेमा विजय मात्रै होइन गर्मी छल्न सयौंको सङ्ख्यामा यहाँ आइपुगेका छन् ।
वीरगन्जमा कपडा व्यापार गर्ने विजयसहित चार जनाले वीरगन्जको गर्मीले थेगिनसक्नु भएपछि उकालो लागेको बताउनुभयो। “तराईमा गर्मी धेरै छ। बिदाको दिन पनि हो साथीहरू मिल्यौं र दिनभर यतै बिताउने गरी आयौं” विजयले भन्नुभयो ।
वीरगन्जबाट मात्र होइन काठमाडौं पुगेर घर फर्कदै गरेका भारतको विहारका नागरिक केही बेर भए पनि त्रिखण्डीनजिकै सामुदायिक वनले व्यवस्थापन गरेको वनभोज स्थलमा पुग्नुभएको थियो । परिवारसहित आएका उहाँहरूले भन्दै हुनुहुन्थ्यो, “पिकनिक स्थल पनि रहेछ घरबाट नजिक छ गर्मी छल्न आउनु पर्छ कस्तो रहेछ भनेर हेर्न आएका हौं।”
यस्तै वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगमा कार्यरत अरविन्दप्रसाद साहसहित उद्योगमा कार्यरत कर्मचारीको समूह गर्मी छल्नकै लागि राप्ती खोला पुगेको बताउनुभयो । तराईमा पनि पिकनिक स्थल छन् किन मकवानपुर आइपुग्नुभयो भन्ने प्रश्नमा साहले भन्नुभयो, “उता सहनै नसक्ने गर्मी छ यताको हावापानी सबै चिसो छ केही समय भए पनि मनलाई आनन्द र शान्ति मिल्छ त्यही भएर यो ठाउँ रोजेका हौं।”
जितपुरका विनय साहले तराईमा गर्मी बढेकाले दिनभरका लागि भए पनि शीतल खोज्दै आफन्त मिलेर त्रिखण्डी क्षेत्रमा आइपुगेको बताउनुभयो । वीरगन्जका सुदीप पटेल केही समय भए पनि गर्मीबाट मुक्तिका भैँसे र त्रिखण्डी मन्दिर आसपासको क्षेत्र उपयुक्त स्थल भएको बताउनुभयो । पटेलले भन्नुभयो, “तराईको तातो हावाले तनावमा थियौं, चिसो हावापानीले आनन्दसँगै तनाव मुक्त बनेका छौं ।”
पार्वती महिला सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको सो बनभोज स्थलमा हेटौंडा सिमेन्ट उद्योगलगायत विभिन्न उद्योगका कर्मचारी वनभोजसँगै गर्मीबाट केही समय भएपछि छुटकारा पाउन भन्दै पुगेका थिए। सामुदायिक वन उपभोक्ता समूहले शनिबार दिउँसोसम्म परिवार र संस्थागत गरी १५ भन्दा बढीको प्रवेश शुल्क लिन टिकट काटेको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको तिरतिरे धारानजिकै राप्ती खोलामा पौडी ठुलै सङ्ख्यामा भिड लागेको थियो।
कुलेखानी तेस्रो जलविद्युत् आयोजनादेखि त्रिखण्डी मन्दिर नजिकको राप्ती खोला किनारमा शनिबार सयौंको सङ्ख्यामा गर्मी छल्न भन्दै पौडी खेल्ने, वनभोज खाने, खोला किनारमा बस्नेदेखि टिकटक बनाउनेसम्मको भिड हुने गरेको छ ।
राप्ती खोलामा गर्मी छल्न हेटौंडाको विभिन्न स्थान र तराईबाट आउनेको सङ्ख्या बढे पनि एकथरी खोला प्रदूषणमा लागेको पाइन्थ्यो । ठुला सवारीका साधन खोलाबिचमा राखेर सफा गर्नेदेखि खोलाबिचबाट नदीजन्य पदार्थको दोहनले प्रदूषित बनेको हो । राप्ती खोलाको विभिन्न स्थानमा बगिरहेको खोलाबाट बालुवा र ढुङ्गा निकाल्दा खोला धमिलो बनेको र सवारीसाधन खोलाभित्रै लगेर सरसफाइ गर्दासमेत भीमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाले प्रदूषण रोक्न नियमन चासो नदेखाएको देखिन्थ्यो । हरेक वर्ष गर्मीको समयमा तराईका जिल्लाबाट मकवानपुरको भीमफेदीलगायतका स्थानको खोला किनार र पर्यटकीय स्थलमा आउनेक्रम पछिल्लो समय बढ्दै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।