काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो।
यस पटक भने निगमले ठाउँपिच्छे फरक अर्थात ठाउँ तीन वटा वर्गमा विभाजन गरेर मूल्य निर्धारण गरेको छ । पटक तराई चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीलाई पहिलो वर्गमा राखिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल छन् ।
निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।
अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ ।
त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ।
हवाइ इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको हो। खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् छ।
