प्रहर खबर
 २०८० आश्विन १४, आईतबार    

बागमती प्रदेशका किसान लागि परिचयपत्रदेखि बीउ पुँजी कोष

२०७९ पौष २३, शनिबार ०४:२७ बजे

मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशका किसानको जीवनमा परिवर्तन र व्यवसायीकरणका लागि किसान परिचयपत्रदेखि बीउ पुँजी कोष स्थापनासम्मको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

एक वर्षअघि नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको सरकार गठन भएसँगै कृषिउपज र पशुपन्छी उत्पादन वृद्धि गर्न किसानलक्षित कार्यक्रम सुरु गरिएको हो । प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण, यान्त्रिकीकरणमार्फत प्रदेशको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सार्वजनिक, निजी र सहकारी क्षेत्रसँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।

आत्मनिर्भर कृषि समृद्ध प्रदेशको अवधारणासहित कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रूपान्तरणका लागि ५५ बुँदे मार्गचित्र सार्वजनिक गरी कार्यान्वयन भइरहेको भन्दै उहाँले कृषि क्षेत्रमा प्रदान गरिने अनुदानमा अनियमितता भएको गुनासोपछि किसानलाई दिइने सहयोग व्यवस्थित बनाउन बीउ पुँजी कोष कार्यक्रम सुरु गरिएको सुनाउनुभयो ।

दूध उत्पादक कृषकलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रणालीको निरन्तरतासँगै कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने प्रणाली सुरु गरिएको बताउँदै उहाँले भन्नुभयो, “ मन्त्रालयको आफ्नै कार्यक्षेत्रभन्दा बाहिरका काम कृषि सडक, सिँचाइलगायतका कार्यक्रम हटाइएको छ।” मन्त्री हुमागाईंले प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउन परियोजनाका रूपमा बीउबिजन आत्मनिर्भर कार्यक्रमको सुरुवात, माटो गुणस्तर सुधार कार्यक्रम कार्यान्वयन, प्रदेशका १० स्थानमा शीतभण्डार, हेटौंडामा दूध पाउडर प्लान्ट र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडा-११ मा प्रादेशिक कृषिथोक बजार निर्माणाधीन रहेको बताउनुभयो ।

मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण तथा कृषि बालीको सुरक्षाका लागि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका १०.४६ किमि पर्खाल निर्माण सम्पन्न भएको र थप पर्खाल निर्माणाधीन रहेको जानकारी दिनुभयो ।गोरखापत्र दैनिकबाट