प्रहर खबर
 २०७९ भाद्र ३, शुक्रबार    

‘लिफ्ट’ मागेर हातखुट्टा बाँधेर कुटपिट र लुटपाट, तीन जना पक्राउ

२०७९ असार १३, सोमबार १९:४९ बजे

हेटौंडा – कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरि कार लिएर भाग्ने तीन जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् ।

उनीहरुलाई गोदावरी नगरपालिका १ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका– ५, बुढीतोलामा दिउँसो उनिहरुले भण्डारीलाई हातखुट्टा बाँधेर कुटपिट गरि उनको प्रदेश ३–०१–०२३ च८७२१ नम्बरको कार लुटेर भागेका थिए । 

कञ्चनपुरको दैजी घर भएका भण्डारी डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिए । उनी आज महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। इन्धन खर्च दिने भन्दै ‘लिफ्ट’ मागेर ती युवकहरुले उनीमाथि लुटपाट र कुटपिट गरेका थिए । त्यसपछि उनको मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । चालकलाई फोटो खिच्ने बहानामा उनीहरुले सडकदेखि केही मिटर तल लगेर कुटपिट गरेका थिए ।

भण्डारीको पद्यमा अस्पताल गोदावरीमा उपचार भइरहेको प्रहरीले बताएको छ । भण्डारीको टाउको र शरिरमा चोट लागेको छ।