हेटौंडा – उच्च अदालत पाटन, हेटौंडा इजलासले हेटौंडा उपमहानरपालिका वडा नं.१० स्थित सिमाचोकबाट टिसिएन रोड निस्कने सडकको किनारमा रेलिङे्ग राख्ने कार्य जेष्ठ २३ गतेसम्म रोक्न भनेपनि हेटौंडा उमहानगरपालिकाले काम सम्पन्न गरेको छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीस मिना गौतम सेडाईको एक्कल एजलासले शुक्रबार जेष्ठ २३ गतेसम्म निवदेकहरुको जग्गा घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ्ग लगाउने कार्य नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरी गरेको थियो ।
हेटौंडा उपमहानगरपालिकाले दलबल प्रयोग गरेर शनिबार विहानै सो सडकको किनारमा रेलिङ राख्ने काम गरेको हो । गत मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नं.१० ले सो सडकको किनारमा रेलिङ्ग राख्ने काम सुरु गरेपछि स्थानीय र व्यवसायीहरुले आफ्नो व्यवसाय तथा घरमा प्रवेशमा असर पुग्ने भन्दै विरोध जनाउँदै अदालतसम्म पुगेका थिए । स्थानीय गोपाल श्रेष्ठले दिएको रिट निवेदनमाथि अदालतले २३ गतेसम्म काम नगर्न, नगराउन अल्पकालिन आदेश दिएको थियो ।
यसै वडाका वडाध्यक्ष फूर्वा दोर्जे लामा शनिबार बिहानै दलबल सहित उपस्थिती भएर अदालतको आदेशलाई वेवास्ता गर्दै रेलिङको काम गरेका हुन् । अदालतको आदेशको अपहेलना गरेकोप्रति केही स्थानीयहरु आक्रोश पोखेका छन् । कानुनी राज्यबाटै कानुनको उल्लङ्घन भएपछि न्यायको आश मारेको भन्दै स्थानीयहरुले दुखेसो गरेका छन् ।
अदालतको आदेश पत्र आफुलाई प्राप्त नभएको वडाअध्यक्ष लामाले बताए । “मैले कसैको घरजग्गामा रेलिङ राखेको होइन्, सडकमा हालेको हो,” उनले भने, “स्थानीयहरुलाई अवरोध गरेको छैन, सडक पेटिमा हिड्ने पैदलयात्रुको सुरक्षाको लागि राखेको हो ।” उनले रेलिङ राख्ने काम सम्पन्न भएको पनि जानकारी गराए ।