हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आज(बिहीबार) विभिन्न विधाका गायक तथा डान्सर आउने भएका छन् ।
मेलामा संगीतिक प्रस्तुतीका लागि चर्चित लोकदोहोरी गायक प्रिति आले मगर, आधुनिक गायक हेमन्त शर्मा, फिल्मी संगीतमा सुचाईएका गायक कृष्ण काफ्लेले संगीतिक प्रस्तुतीमार्फत दर्शक नचाउने छन् ।
यस्तै नेपाली लोक संगीतिकको म्युजिक भिडियोमा रुचाईएकी मोडल तथा डान्सर करिश्मा ढकाल लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
महोत्सवको आठौं बुधबार महोत्सवमा गायक विश्व नेपाली र गायिका शीलु भट्टराईले पनि आफ्नो सांगीतिक प्रस्तुती दिएकी थिइन् । साथै कमेडियन सुदीप थापाले महोत्सवमा उपस्थित दर्शकहरुलाई प्रहशन गर्दै हसाएका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको भोटिङ राउण्ड सुरु भएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
महोत्सवको समापन माघ २३ गते हुनेछ ।