हेटौंडा – मकवानपुरको छुट्टाछुटै स्थानबाट विभिन्न प्रकारको लागुऔषध सहित ७ जना पक्राउ परेका छन् । मनहरी, हेटौंडा र भिमफेदीबाट विभिन्न प्रकारको लागुऔषध सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका–७ स्थित चैनपुरबाटबाट यही फागुन २७ गते लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१६ बस्ने वर्ष २९ को बुद्धीमान वाईबा, सोही स्थान बस्ने वर्ष २९ को अर्जुन स्याङतान र वर्ष ३० को बिनोद पाख्रिन रहेका छन् ।
चैनपुरबाट हेटौडा तर्फ आउदै गरेको बा. ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उनिहरुले लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १ सय ८० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । उक्त लागुऔषध गाँजा,पिकअप गाडी सहित निजहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट प्रतिवन्धित औषधी लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–८ बस्ने वर्ष २६ को अमृत सुनार र खैरहनी नगरपालिका– ७ बस्ने वर्ष २७ को किसन विश्वकर्मा रहेका छन् । सडकखण्डमा शंकास्पद रुपमा हिडिरहेका उनिहरुको साथबाट प्रहरीले डायजेपाम १७एम्पुल, फेनर्गन १९ एम्पुल र नोफिन १५ एम्पुल गरी जम्मा ५१ एम्पुल र लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २ सय ४० मिली ग्राम फेला परेको थियो ।
साथै मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेबाट २ केजी २ सय ग्राम गाँजा सहित कैलाश गाउँपालिका ४ बस्ने वर्ष १९ को अमृत मोक्तान र सोही गाउँपालिका बस्ने एक जना किशोर पक्राउ परेका छन् । उनिहरुलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले गाँजा सहित शनिबार दिउँसो पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना।४ ख ४०२४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनिहरुको साथबाट उक्त परिमाण लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित नियन्त्रणमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।