हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको नेतृत्वमा मन्त्रिपरिषद् विस्तार भएको छ । एक विनाविभागीयसहित ६ जना मन्त्री थपिएका हुन्।
आइतबार मुख्यमन्त्री जम्कटेलले नेपाली कांग्रेसबाट एक विनाविभागीयसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्का वन तथा वातावरण, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।
त्यस्तै नेकपा एसका डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालय नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यससंगै मुख्यमन्त्री जम्कटेलको नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ । यसअघि कांग्रेसका बहादु सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् । यससंगै बागमती प्रदेशको ११ सदस्यीय मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।