प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ११९ जनाले पाए लालपुर्जा

२०८० श्रावण ८, सोमबार ०३:०१ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका-५ का ११ जना भूमिहीन र दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले भूमिविहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने काम महत्त्वपूर्ण भएको भन्दै भूमिहीन र अव्यवस्थित बसोबासीलाई सरकारले व्यवस्थापन गर्ने बताउनुभयो । अहिलेको सरकार जनताको सरकार हो, भूमिहीन सुकुमवासी र दलित समुदायका साथै उत्पीडित समुदायलाई जग्गाधनी पुर्जा वितरण गर्ने र सुकुमवासीबाट मुक्त गर्ने अभियानमा सरकार लागेको उहाँले बताउनुभयो ।

सङ्घीय सरकारको नीति नियम र कानुन छ, उहाँले भन्नुभयो, “त्यसको अधीनमा बसेर जिल्लामा गठन भएका आयोगले स्थानीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाएको छ।” वास्तविक सुकुमवासी र भूमिहीन को हो त्यसलाई मात्र अहिले जग्गा उपलब्ध गराउने हो, त्योबाहेक अरू कसैलाई उपलब्ध नगराउनु होला उहाँले भन्नुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सङ्घीयता स्थापना भएपछि निकै महत्त्वपूर्ण काम भएको बताउँदै भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न अहिलेको सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।लालपुर्जा वितरण कार्यक्रम बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको थियो ।

मकवानपुरमा ११९ जनाले पाए लालपुर्जा
नापी कार्यालय मकवानपुरका प्रमुख पूर्णहरि सुवेदीका अनुसार हेटौंडा उपमहानगरपालिका १३ का ६९ जना, बागमती गाउँपालिकामा ३९ जना र बकैया गाउँपालिकाका ११ जना गरी पछिल्लो समय मकवानपुरमा हालसम्म ११९ जना सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएका छन् ।
राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले हेटौंडा उपमहानगर, बागमती, बकैया र मनहरी गाउँपालिकामा भूमिसम्बन्धी समस्या रहेको बताउँदै तीन / चार महिनाभित्रै दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो। भूमि आयोग मकवानपुरले जिल्लामा भूमिहीन र अव्यवस्थित बसोबासी गरी ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुमवासी रहेको जनाएको छ ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाको वडा नं. १, ४, ६, ७ र ११ नं. वडामा जग्गाको नापजाँच भइरहेको जानकारी दिनुभयो । ऐलानी जग्गा नाप्ने काम भइरहेको भन्दै २०३२ सालमा नाप नक्सा भएको जग्गाको पनि लालपुर्जा प्राप्त भएको छैन, पालिका उपाध्यक्ष खत्रीले भन्नुभयो, “यहाँ ८० प्रतिशतसँग लालपुर्जा छैन।" मकवानपुरको बकैया १, २ र ५ सँगै सिमाना जोडिएको मधेश प्रदेशको बारा र रौतहटसँग सीमा विवादका कारण नाप जाँचमा समस्या भइरहेको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकबाट