प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद, ७६ वर्षिय मोक्तानसहित पाँच जना पक्राउ

२०७९ फाल्गुन १३, शनिबार ०९:५५ बजे

हेटौंडा – मकवानपुर प्रहरीले जिल्लाको कैलाश गाउँपालिकाबाट ठुलो परिमाणमा लागुऔषध र हतियार सहित पाँच जनालाई पक्राउ गरेको छ ।

कैलाश गाउँपालिका–६ दुम्सिखर्कस्थित स्थानीय जित बहादुर मोक्तानको घरगोठ खानतलासी गर्दा लागुऔषध गाँजा १ हजार ५ सय १५ किलो(डेढटन), चरेश १३ किलो, भरुवा बन्दुक र कटुवा पेस्तोल १–१ थान सहित ६ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६ बस्ने ७६ वर्षीय जित बहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, सोही स्थान बस्ने ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ बर्षीय शेखर घले रहेकोे प्रहरीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशर कुमार न्यौपाने, प्रहरी सायक निरीक्षक नबिन बिक्रम थापा र इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी नायव निरीक्षक प्रशाद कोईरी सहितको टोलीले उक्त लागुऔषध र हतियारसहित उनिहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनिहरुको साथबाट गाँजा च्याप्ने काठको फर्मा र तराजु १–१ थान सहित गाँजालाई तयारी बनाउन प्रयोग गरिने अन्य सामानहरु पनि बरामद गरिएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।