हेटौंडा – हेटौंडा–काठमाडौँ जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक आजदेखि १६ दिनका लागि बन्द गरिने भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्नेलगायतका सडक निर्माण कार्य भइरहेकोले चैत २३ गतेसम्मका लागि सडक बन्द गरिएको जानकारी दिए।
उनले उक्त सडकमा आवतजावत गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा बन्द गरिएकोले सो अवधिभर वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे। उक्त सडकको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ।