हेटौंडा – हेटौंडामा यही मंसिर २२ गते चर्चित सांगीतिक समूह नेपथ्यको लाइभ कन्सर्ट हुँदैछ । मानवसेवा आश्रमले हेटौंडामा पत्रकार सम्मेलन गरी नेपथ्य लाइभ कन्सर्टको टिकट बुकिङ्ग खुल्ला भएको जानकारी दिएको छ ।
सांगीतिक प्रस्तुती कार्यक्रममा ७ हजार दर्शक उपस्थित गराउने लक्ष्यसहित टिकट बिक्री खुल्ला शनिबारबाट खुल्ला गरिएको हो । हाल ३ हजार वटा टिकट बिक्रीका लागि बजारमा पठाईएको आश्रमले जनाएको छ । उक्त टिकट विक्रीको लागि विभिन्न संघ/संगठन, क्याम्पस लगायत क्षेत्रमा जिम्ममा लगाईएको छ ।

बाँकी ४ हजार टिकट बिक्री गर्न पठाउने तयरीमा भइरहेको बताईएको छ । कार्यक्रमको तयारी पनि धमाधम भइरहेको छ । प्रचारप्रसारका लागि पोस्टर टास्ने, बोर्ड, ब्यानर राख्ने, माईकिङ्ग गर्ने काम तिब्र पारिएको आश्रमले जनाएको छ ।
लाइभ कन्सर्ट हेटौंडा—४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा ४ बजेदेखि ८ बजेसम्म हुनेछ । आश्रमका अनुसार लाइभ कन्सर्टमा ४० लाख रुपैयाँ खर्च हुनेछ । कन्सर्टबाट २ करोड रुपैयाँ बचत गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमको निर्माणाधीन भवनलाई पूर्णता दिन, अक्षयकोष स्थापना गर्न एक महिने देशव्यापी सांगीतिक कार्यक्रम आयोजना गरिएको हो । ‘मानवता प्रवर्द्धन अभियान’ मा नयाँ अठोटका रुपमा ब्याण्डले सांगीतिक कार्यक्रम मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म हेटौंडा सहित देशको प्रमुख १० शहरमा गर्न लागेको हो ।
अभियानसँगै ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच ब्याण्डले लिएको छ।कार्यक्रमको पहिलो प्रस्तुती मंसिर १६ गते बिराटनगरको ‘हाटखोला मैदान’मा हुनेछ। त्यसपछि मंसिर १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा नेपथ्यको आवाज गुञ्जिने छ भने मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा प्रस्तुति दिने छन्।

२५ मंसिरमा नारायणघाटको ‘क्याम्पाचौर’, मंसिर २९ गते नेपालगन्ज, ३ गते धनगढी रंगशाला, पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलकाे ‘रामनगर खेलमैदान’, पुस १२ गते पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा कार्यक्रम हुनेछ। अङ्ग्रेजी नयाँ बर्ष अर्थात पुस १६ गते संघीय राजधानी काठमाडौं मण्डपमा प्रस्तुती दिने छन्।
आश्रमले कन्सर्टसंगै सहयोगी दाताहरुको लागि भोजन सेवा समेत स्कीम ल्याएको छ । केही निश्चित रकम तिरेर आश्रममा आश्रित वृद्धवृद्धालाई बर्षको एकपटक खाना खुवाउन सकिनेछ । त्यस्तै विहान बेलुकाको खाजासहित दुई पटक खाना खुवाउन सकिने आश्रमले जनाएको छ । लाइभ कन्सर्टबाट भोजन सेवामा जोडिने सहयोगी दाताहरु बढाउने लक्ष्य आश्रमको छ ।

आयोजकले उपत्यका बाहिर टिकटको मुल्य १ हजार तोकेको छ भने काठमाण्डौ उपत्यकामा १ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । टिकट अनलाईन बुकिङ्ग पनि गर्न सकिने छ । अनलाईन बुकिङ्ग गर्न यहाँ क्लिक गरी टिकट बुकिङ्ग गर्न सकिन्छ।