हेटौंडा – राष्ट्रपति विद्यादेवी भण्डारी आज (मंगलबार) बागमती प्रदेशको राजधानी हेटौंडा आउँदै छिन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन् गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउने भएकी हुन् ।
राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत हेटौंडा आउने छिन् । राष्ट्रपति भण्डारीले दिउँसो ११ बजे नयाँ भवनको उद्घाटन् गर्ने कार्यक्रम तय भएको छ ।
हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई अनुसार हेटौंडा अस्पताल प्राङ्गनमा हुने कार्यक्रमको सबै तयारी पुरा भएको छ । आम सर्वसाधरण भने १० बजेनै अस्पताल प्राङ्गनमा पुगिसक्नु पर्ने छ । आज राष्ट्रपति आउने कार्यक्रम तय भएकाले हेटौंडा बजार क्षेत्र र अस्पताल वरपरको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अस्पतालको तीन तले भवन संघीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा २०७९ मा असोजमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएलगतै अस्पतालले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त भवनमा हाल २०० शैयाको अस्पताल सञ्चालन भइरहेको छ ।