हेटौंडा – मकवानपुरको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडीका दुई परिवारलाई राहत प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएको हुन् ।
सरकारको तर्फबाट प्रजिअ चिलुवालले मृतक अनुपम घलान र साइमन योन्जनको परिवारलाई २–२ लाख रुपैयाँ चेक हस्तान्तरण गरे । उक्त चेक मृतक अनुपमका बाबु ललित घलान र साइमानका बाबु बाबु हेमबहादुर योञ्जनलाई हस्तान्तरण गरिएको प्रजिअ चिलुवालले बताए ।
यसैगरी मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई सिस्नेरीस्थित घरमा नै गएर उक्त राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलवाल बताए ।
अनुपम, दिवस र साइमनसहित ६ जना असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोमा परीमा मृत्यु भएका थिए । जसमा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी छन् ।
उनीहरुलाई अखिल नेपाल फुटबल संघले ४० जना विद्याथीलाई मकवानपुरको सिस्नेरी गाउँपालिका–३ सिस्नेरीस्थित रहेको वत्सलादेवी माविमा फुटबल प्रशिक्षणसंगै अध्ययनका लागि राखेको थियो । अविरल वर्षासँगै करिब ३१ वर्षपछि कुलेखानी जलविद्युत् आयोजनाको बाध भरिएपछि बाधको ढोका खोल्दा सिस्नेरी खोलाको जलसतह बढेको थियो ।
खोलाको सतह बढेसँगै खेलाडीलाई सुरक्षित स्थानतर्फ सार्नेक्रममा पहिरोमा परेको बताईएको छ । घटनाको बारेमा छानविन हुने पनि बतार्ईएको छ ।