प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर दोस्रो पटक प्रदेश च्याम्पियन

२०८० जेठ १३, शनिबार १५:२२ बजे

हेटौंडा – पुरूष फुटबलमा काठमाडौंलाई हराउँदै मकवानपुर दोस्रो पटक बागमती प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ ।

दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा काठमाडौंलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटमा एक/एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनु परेको थियो । पेनाल्टी सुटआउटमा घरेलु टोली मकवानपुर काठमाडौंलाई पाखा लगाउन सफल भयो ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा गोलरक्षक र रक्षकको तालमेल नमिल्दा खेल सूरु भएको १२ औँ सेकेण्डमा मकवानपुरले आत्मखाती गोल खायो । काठमाडौंले १–० को अग्रता बनायो ।

गोलको लागि संर्घषरत मकवानपुरले राम्रो अवसर पाएपनि पहिलो हाफमा काठमाडौंको पोष्टको जाली चुमाउन सकेन । मकवानपुर खेलमा फर्किन अन्तिम तिरसम्म कुर्न पर्यो ।

मकवानपुरका लागि खेलको ७० औँ मिनेट सुजन गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । मकवानपुरका कप्तान प्रितम स्याङ्बोले मैदानको दायाँ र्कनरबाट दिएको कटब्यक पासलाई सुजनले पहिलो चटमै पोष्ट जाली चुमाए ।

खेल बराबरीमा भएपछि खेलाडीबीच हात हालाहाल भएको थियो । सुरक्षकर्मी र आयोजकले हात हालाहालको स्थिति साम्य बनाउनु परेको थियो । अवस्था शान्त बनेपछि पुनः खेल सुरु भएको थियो ।

बाँकी रहेको समयमा दुबै टोलीबाट थप गोल हुन नसेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको हो । पेनाल्टी सुटआउटमा काठमाडौंका तीन खेलाडी गोले गर्दा एक खेलाडीको प्रहार मकवानपुरका गोल रक्षकले बचाएका थिए भने अर्का खेलाडीको प्रहार पोष्टको फ्रेममा परेन ।

त्यस्तै मकवानपुरका एक खेलाडीको प्रहार पोष्टको बारमा लागेर बाहिरिपनि अन्य चार खेलाडीले सहजै बलले पोष्ट जाली चुमाउन सफल भएका थिए । मकवानपुरका लागि विजयी गोल गरेका सुजन गुरुङ फाइनल खेलका म्यानअफ द क्याच घोषित भए ।

प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी मकवापुरका कप्तान प्रितम स्याङ्बो घोषित भए । विधागततर्फ उत्कृष्ट मकवानपुरका गोलरक्षक गोपी बर्तौला, रक्षक काठमाडौंका सौगात लामा, मिडफिल्डर मकवानपुरका स्याम्युल सुनार, फर्वाड खेमराज तामाङ, सर्वाधिक गोलकर्ता प्रितम स्याङ्बो घोषित हुँदा उत्कृष्ट प्रशिक्षकमा मकवानपुरकै बिजयलाल श्रेष्ठ चुनिए ।

यसअघि पहिलो संस्करणमा मकवानपुरले ललितपुरलाई पराजित गर्दै स्वर्ण जितेको थियो ।