हेटौंडा – नगरवासीलाई निःशुल्क पानी खुवाउनका लागि हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड बिच सम्झौता भएको छ । साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका २३ हजार ५०० घरधुरीहरुलाई १० हजार लिटरसम्म निःशुल्क खानेपानी खुवाउने निर्णय गरेको थियो ।
आइतबार भएको सम्झौता अनुसार बोर्ड मार्फत बितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक बिद्यालय र क्याम्पसले खानेपानी प्रयोग वातव शुल्क तिर्न नपर्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरीरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५, सामुदायिक विद्यालयलाई अनमिटर प्रतिधारा ७ सय, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र शहरी स्वास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपियाँ उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई तिर्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।
खानेपानिको बिलिङ भएको महिनाको १० गते भित्र महशुल रकम बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । सहमति पत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाई, प्रशाशन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका हुन् । उपमहानगरपालिका भित्र रहेका करिब ४० सामुदायिक विद्यालय र २ वटा सामुदायिक क्याक्पस रहेका छन् ।