हेटौंडा – सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु आमनागरिकको दायित्व हो, तर मकवानपुरमा सार्वजनिक सम्पत्तिनै धमाधम चोरी हुन थालेको छ । हेटौंडा काठमाडौं जोड्ने त्रिभूवन राजमार्ग(बाइरोड)अन्र्तगत सिमभञ्याङ्ग पालुङ्ग सडक खण्डको सडक किनारमा राखिएको फलामे बार चोरी भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाका निमित्त डिभिजन प्रमुख बिष्णु प्रसाद लामिछानेका अनुसार सिमभञ्याङ्ग पालुङ्ग खण्डको सडक किनारमा राखिएको करिब ४० हजार मुल्य बराबरको फलामे बार चोरी भएको हो । “६/७ महिना अघि फलामे बार जडान गर्ने क्रममै चोरी भएको थियो, कार्य सम्पन्न हस्तान्तरण नहुँदा निर्माण कम्पनीले नै ब्यहोर्यो,” लामिछाने भने, “त्यसपछि हामीले सुचनामा पनि जारी गयौँ, चोरी रोकिएको थियो, फेरी चोरी भएको छ ।”
“पछिल्लो समय थोरैथोरै मात्रामा दिनदिनै चोरी भइरहेको छ । स्थानीय तहदेखि प्रहरी प्रशासनलाई पत्राचार गरिसकेका छौँ । कसले चोर्यो, चोरी गर्ने ब्यक्ति पत्ता लागेको छैन,” लामिछानेले प्रहर खबरसंग भने ।
चोरीमा संलग्न ब्यक्तिहरुको खोजी कार्य र फलामे बार सुरक्षाको लागि इलाका प्रहरी कार्यालय पालुङ्ग, थाहा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार समेत गरिएको लामिछानेले बताए ।
उता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी घटनाको बारेमा आफुलाई जानकारी नभएको बताउँछन् । “सम्बन्धित फाँटमा पत्र आयो होला, मलाई थाहा छैन, बुझ्नुपर्छ,” उनले भने ।
यस सडक निर्माण भएको करिब ८० बर्ष भन्दा बढी भयो । विं.सं.२०१० मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीले थानकोटस्थित शिलान्यास गरेकी थिइन् । राजमार्ग निर्माण कार्यले २०१३ सालदेखि तीब्रता पाएको थियो । विं.सं.२०१६ सालमा पूर्ण रुपमा संचालनमा आएको यो राजपथ नेपालको सबैभन्दा जेठो राजमार्ग मानिन्छ ।
अत्यन्त बढी घुम्ती सडक भएको यो राजमार्ग त्यति सहज मानिदैन । सडक डिभिजन हेटौंडाले सवारी र यात्रुको सडक यात्रालाई सुरक्षित बनाउनका लागि करिब ४ करोडको लागतमा हेटौंडादेखि पालुङ्गसम्मको सडकको किनारमा फलामे बार राखिएको थियो । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइ रहेको छ । दुरी हिसाबले हेटौंडाबाट काठमाडौं जान लामो दुरी भएपछि यो सडक १२ महिना सञ्चालनमा रहन्छ ।