प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खसी भनेर बाख्रीको मासु बेच्ने दुई जना पक्राउ

२०८० जेठ २३, मंगलबार ०१:५८ बजे

काठमाडौं – उपभोक्तालाई खसी भनेर बाख्रीको मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । तनहुँको सदरमुकाम दमौलीबाट भारत बिहार प्रदेश घर भई हाल तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने १९ वर्षीय ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा स्थानीय प्रशासनले निगरानी बढाइएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनुगमनको क्रममा ईस्तखार आलमले सञ्चालन गर्दै आएको महम्मद फिरोज मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नको लागी बाख्री जातको मासु काट्दै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँ उपस्थित गराई निजहरू उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।