मकवानपुर – राक्सिराङ गाउँपालिका वडा नं.८, रातोडाँडामा एक ८१ वर्षीय वृद्धको भीरबाट लडेर मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मृत्यु हुनेमा सिंह बहादुर ब्लोन रहेका छन् ।
उनी आफ्नो घरदेखि करिब ४–५ मिटर दक्षिणतर्फ पर्ने जंगलमा घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर अन्दाजी ७०–८० मिटर तल भीरबाट खसेका थिए।
घटनापछि वृद्धको कराएको आवाज उनकी बुहारीले सुनेर वरपरका मानिसहरूलाई बोलाइन्। घाइते वृद्धलाई उद्धार गरी घरमा ल्याइएको र तत्काल उपचारका लागि एम्बुलेन्स बोलाइएको थियो। तर, एम्बुलेन्स आइपुग्नुअघि नै घरमै दिउँसो १:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै राक्सिराङ गाउँपालिका–७, गाईभाङमा एक व्यक्ति भीरबाट लडेर गम्भीर घाइते भएका छन्। वर्ष ४१ का जंग बहादुर प्रजा आफ्नो गाउँबाट घर फर्किने क्रममा घर नजिकै रहेको भीरबाट करिब ३०–३५ मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेको हो।
घटनापछि घाइतेलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ । जहाँ उनको अवस्था गम्भीर रहेको जनाइएको छ।