हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ कुलोदमारचौकमा अटोको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन् । धरानचतरा सडक खण्ड अन्तर्गत रामधुनीबाट बकैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १४५१ नम्बरको अटोको ठक्करबाट स्थानीय सानु बाबु ब्लोनको छोरा ४ बर्षीय सन ब्लोन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेर १५ मिनेट बजेको समयमा बाटो क्रस गर्ने क्रममा अटोले बालकलाई ठक्कर दिएको हो । बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकको हेटौंडा अस्पतालमा लगिएकोमा उपचार सम्भव नभएपछि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
अटो चालक बकैया गाउँपालिका वडा नं.७ हिरामुनी बस्ने ३४ बर्षीय गंगा बहादुर न्यासुर (तामाङ)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना लगतै हेटौंडा उपमहानगरपालिका वडा नं.१८ स्थित कालिका मन्दिर पछाडी अटो छाडेर चालक न्यासुर फरार भएका थिए । उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।