प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकपले नयाँ च्याम्पियन पाउने, अनि बुलेट बाइक ?

२०७९ फाल्गुन १०, बुधबार ०४:५५ बजे

हेटौंडा – विसं.२०६२/०६३ को जनआन्दोलनका सहिदहरुको सम्झनामा २०६४ सालमा पहिलो पटक मकवानपुर गोल्डकपको आयोजना भएको थियो । त्यति बेला स्थ्रिस्टार क्बलले पहिलो संस्करणको उपाधि जितेको थियो ।

त्यसपछि प्रतियोगिताले करिब ११ बर्ष रोकियो । २०७५ सालमा जिल्ला फुटबल संघ मकवानपुरले स्थानीय तहहरुसंग आर्थिक संकलन गरेर मकवानपुर गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दियो ।

सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता नाम दिईएको दोस्रो संस्करणको उपाधि आयोजक टोली मकवानपुर–११ ले जितेको थियो । मकवानपुर–११ ले क्यामरुनी टोली दाउफिन्स २–१ ले हराउँदै च्याम्पियन बनेको थियो ।

तेस्रो संस्करणमा आयोजक टोली विजयी युथ क्लब प्रतियोगिताको फाइनलमा पुग्यो । तर उपाधि भने जित्न सकेन । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि) खेल मैदानमा भएको फाइनल खेलमा बिजय युथलाई १–० ले पराजित गर्दै विभागिय टोली त्रिभुवन आर्मीले पहिलो पटक उपाधि जित्यो ।

चौथो सिजनमा पनि घरेलु टोली बिजय युथ क्बल फाइनलमा पुग्यो । घरेलु मैदानमा दर्शकको साथ पाएको विजय युथमाथि फेरि आर्मी हाबी भयो । आर्मीले विजय युथलाई २–१ गोल अन्तरले पाखा लगाउँदै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

हेटौंडा–५स्थित पिप्ले क्याम्पा रंगशालामा जारी पाँचौ संस्करणको फाइनल खेल आज(बुधबार) एडिभिजन टोली मनाङ मस्याङदी र हिमालयन शेर्पा क्बलबीच हुँदैछ । यी दुई टोली पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुगेका हुन् । मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ ।

तीन बालियो प्रतिद्वन्दीलाई हराउँदै फाइनलमा स्थान बनाएको शेर्पा निकै लयमा देखिन्छ । शेर्पा मनाङलाई हराउँदै पहिलो पटक मकवानपुर गोल्डकपको उपाधि चुम्न चाहान्छ । उता संर्घषपुर्ण यात्रा गर्दै फाइनलमा पुगेको मनाङ आफ्नो कमजोरी सुधार्दै उपाधि जित्ने दाउमा छ ।

शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठको प्रशिक्षणमा लामो समय खेलका खेलाडी मनाङमा छन् । उनीहरुको कमिकमजोरी थाहा पाएका श्रेष्ठ त्यसैको मौका उठाउँदै फाइनल खेल जित्ने योजनामा छन् ।

उता मनाङ ब्यवस्थापक शिव लामा विश्व फुटबलको अनुभव बटुलेका पूर्वबार्सिलोना डावान्डु डियाग्रे र उब्जेकिस्तानको सेदजामोल दाभ्लातजोनोभसंगै युवा खेलाडीको सुधारिएको प्रदर्शनबाट उपाधि जित्ने आसमा छन् ।

शेर्पाले बागमती युवा क्लब, फ्रेण्ड्स र बलियो क्यामरुनी क्लब एभिनियर एफसीलाई निर्धारित समयको खेलमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । मनाङले पहिलो खेलमा आयोजक टोलीसंग निर्धारित समयको खेलमा जित निकाल्दा एपिएफसंग खेलमा स्कोर गर्न नसक्दा जित निकाल्न पेनाल्टी सुटआउटको साहारा लिनु परेको थियो ।

प्रतियोगिताको पछिल्लो तीन खेलमा केहि लयमा देखिएको हिमालयन शेर्पाले कीर्तिमानी ८ पटकको ए डिभिजन लिगको च्याम्पियन मनाङमाथि जित निकाल्न सहज भने हुने छैन । अनुभवी खेलाडीलाई आफ्नो हतियार बनाएको शेर्पामाथि युवा जोसले मात्रै मनाङले बाजी मार्न त्यति सजिलो छैन ।

शेर्पाको अनुभबी र मनाङको युवा खेलाडीको उपाधि भिडन्त निकै प्रतिस्पर्धात्क हुने देखिन्छ । पिप्ले क्याम्पा रंगशालामा मनाङ र शेर्पाले उपाधिका लागि भिड्ने छन् । खेल आज बुधबार दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख र उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ । विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ ।

गएको दुई संस्करणमा जिल्ला फुटबल संघले आयोजक टोलीका स्थानीय खेलाडी अमिर श्रेष्ठ र अशोक बरालले पाएका थिए । यसपटक आयोजकले घरेलु टिम बाहेक बाहिरि खेलाडीलाई प्रदान गर्ने जनाएको छ ।

मंगलबार पत्रकार सम्मोलनमा बोल्दै मकवानपुर फुटबल संघका उपाध्यक्ष युवराज लामाले फाइनलमा पुग्ने दुई टोलीबाट प्रतियोगिताभर उत्कृष्ट खेल प्रर्दशन गर्ने जिल्ला बाहिरका खेलाडीलाई प्रदान गरिने बताए । बाइक कस्ले पाउँछ फाइनल खेलपछि मात्रै थाहा हुने उनको भनाई छ ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीका लागि बुलेट बाइक हेटौंडा स्कुल आफ म्यानेजम्यान्टले उपलब्ध गराउँदै आइरहेको छ ।