हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुरगढी, थाहा नगरपालिका लगायतका क्षेत्रमा डेङ्गु देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हाल जिल्लाभर ७५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ । रोग पहिचान हुने बित्तिकै उनीहरूलाई तत्काल स्थानीय अस्पतालमा उपचारको व्यवस्था मिलाइएको बताईएको छ । केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल लगायतका अस्पतालमा रिफर गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी प्रवक्ता लक्ष्मण घिमिरेले बताए । उनले जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ र ५ मा बढी डेङ्गु रोगका बिरामी फेला परेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी हेटौंडा ४ मा २८८जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । हेटौंडा १ मा, ४९ जना, हेटौंडा २ मा ५१ जना, हेटौंडा ३ मा १७ जना, हेटौंडा ५ मा ८९ जना, हेटौंडा ६ मा ११ जना, हेटौंडा ७ मा ६ जना, हेटौंडा ८ मा ३८ जना, हेटौंडा ९ मा ३९ जना सङ्क्रमित भएका छन् ।
यसैगरी हेटौंडा १० मा ६१ जना, हेटौंडा ११ मा २७ जना, हेटौंडा १२ मा १४ जना, हेटौंडा १३ र १६ मा ४/४ जना, हेटौंडा १४, १७ र १९ मा ५र५ जना, हेटौंडा १५ मा ३ जना, हेटौंडा १८ मा १ जना संक्रमीत भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर प्रवक्ता घिमिरेले जानकारी दिए। यस्तै मनहरी गाउँपालिकामा ५ जना, मकवानपुरगढी गाउँपालिकामा ४ जना, थाहा नगरपालिकामा १ जना र अन्य २९ जना गरि बुधबारसम्म ७५७ जना सङ्क्रमित भएका छन् ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगरको १ देखि १९ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने, सरसफाइ गर्ने कार्य गरीरहेको मेयर मिना लामाले बताइन्।
मकवानपुरमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।