प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विवाह गर्न वडा कार्यालयको स्वीकृति अनिवार्य

२०७९ माघ २५, बुधबार ०३:५९ बजे

मङ्गलसेन - कमलबजार नगरपालिका-५ का बासिन्दाले छोराछोरीको विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने भएको छ । स्वीकृति नलिई विवाह गरेमा सामाजिक सुरक्षा, बालपोषण, विभिन्न सिफारिस काठको पुर्जीसमेत रोकिने वडाले जनाएको छ ।

वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका अनुसार वडाभित्र विवाह हुने दुलाहा वा दुलहीको जन्मदर्ताको प्रमाणपत्र वडा सदस्यलाई वा वडामा बुझाएर स्वीकृति लिएपछि मात्र विवाह गर्न पाउने छन् ।

बालविवाह नियन्त्रण गर्न वडा समितिमा छलफल गरेर सो निर्णय लिइएको वडा अध्यक्ष तिमिल्सैनाले बताउनुभयो । सो व्यवस्थाले बालविवाहमा कमी आउने अपेक्षा वडाले राखेको छ ।

डेढ वर्षको अवधिमा सो वडामा भएका १० वटा बालविवाहसमेत दुवै पक्षको समन्वयमा रद्द गरिएको वडा अध्यक्ष तिमिल्सैनाको भनाइ छ । उमेर नपुगेर विवाह गरेर आएका सात र विवाह गरेर गएका तीन जना केटीको विवाह उनका आफन्तसँगको समन्वयमा रद्द गरिएको बताइएको छ ।

वडालाई नै बालमैत्री बनाउन क्रियाशील रहेकाले त्यसका सूचकका बारेमा छलफल भइरहेको भनाइ वडा अध्यक्षको छ । बलविवाह रोक्नका लागि कुइकाको वडाले गरेको निर्णयलाई जिल्लाभरि सकारात्मक भएको प्रतिक्रिया आइरहेका छन् । नेपालको कानुनी व्यवस्थाअनुसार विवाहयोग्य उमेर २० वर्ष मानिएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।