हेटौंडा – संघिय सत्ता समीकरण परिवर्तनको प्रत्यक्ष प्रभाव परेको बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिई विश्वासको मत लिने तयारी गरेका हुन् ।
उनले वर्तामान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिको गर्ने भएका छन् । केन्द्रमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्दै गर्दा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिई विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्रीले पदबाट राजीनामा नदिएर विश्वासको मत लिनुहुने बताए।
यस प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । एमालेले समर्थन फिर्तासँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा हुन्छन्, भने एमालेका मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीबाट राजीनामा दिन रोकिएका एमालेका मन्त्रीले आइतबार मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने जानकारी दिए ।