हेटौंडा – कैलाश गाउँपालिकाको दशौं गाउँसभाले समृद्ध कैलाश निर्माण गरौं भन्ने सोचका साथ बुधबार ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ ।
बजेट गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीद्वारा प्रस्तुत बजेटमा सडक पूर्वाधारको विकासका लागि ८ करोड ५४ लाख ७७ हजार रुपैंया र भवन पूर्वाधारतर्फ १ करोड १२ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ । उज्यालो कैलाश, समृद्ध कैलाश अभियानको रुपमा विकास गरि विद्युत पूर्वाधारको निर्माण गर्न ५० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
सिंचाई क्षेत्रको लागि १० करोड ५३ लाख २६ हजार ५ सय रुपैंया, कृषि क्षेत्रको लागि ३३ लाख रुपैंया, पशुपन्छी क्षेत्रको लागि २२ लाख रुपैंया, घरेलु तथा लघु उद्योग क्षेत्रका लागि ३ लाख ५० हजार रुपैंया, पर्यटन विकास तथा प्रबद्र्धनका लागि ३८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
शिक्षा तर्फ ९४ लाख २२ हजार, सामाजिक विकासतर्फ ३४ लाख ६५ हजार,नेतृत्व विकास र शसक्तिकरणका लागि ८ लाख,खेलकुद पूर्वाधारको विकास गर्न तथा खेल मैदान निर्माण गर्न २५ लाख, खानेपानी योजनाका लागि २९ लाख ५० हजार र परम्परा, संस्कृति सम्पदा, संग्रहालय आदिको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।