प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा महोत्सवको आज अन्तिम दिन, गायिका रचना रिमाल आउने

२०७९ माघ २३, सोमबार ०१:४६ बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवको तेह्रौँ तथा अन्तिम दिन । आज सोमबार गायिका चर्चित गायिका रचना रिमाल र संगीतकार तथा गायक चेतन सापकोटा आउने भएका छन् ।

रचना रिमाल सुगम र लोकगीत संगीतका कारण चर्चामा छिन् । नेपाल आइडलबाट बाहिरिएपछि फोटो फिरिमा... बोलको गीतबाट चर्चामा आएकी रचनाको दर्जन बढी गीतहरु नेपाली दर्शक स्वताले रुचाएका छन् ।

रचनाको फोटो फिरिमा..., उनको प्रीति...,तस्वीर दिलैमा...,भन साईंला...,तिम्रो घरमा मेरी छोरी..., काफल गेडी...,ढुङगे धारा...,तिमीले सोचे भन्दा धेरै..., लगायत गीतहरु दर्शक स्वताले बढी रुचाएका छन् ।

महोत्सवको बाह्रौं दिन हिजो आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकहरुलाई नचाएका थिए । आइतबार करिब करिब ६ हजार भन्दा बढी दर्शकले अवलोकन गर्दा ४० लाख बराबरको कारोबार भएको आयोजकको अनुमान छ । 

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

ग्राण्ड फाइनलमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५) र सुसन शाही ठकुरी(८) ले आफ्नो प्रस्तुती दिएका छन् । उनीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न समय खुला भइसकेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने निर्णायक कार्कीले बताएका छन् । टिकट अर्धकट्टीबाट भोटिङ गर्न आज साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली सोमबार विहान ११ बजे सम्म भोटिङ गर्न सकिने निर्णायक विजय कार्कीले बताएका छन् ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

महोत्सवको समापन आज माघ २३ गते सोमबार हुदैछ।