प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश सभा बैठकः पूर्वाग्राही नराखी काम गर्न सरकारलाई सुझाव

२०८१ बैशाख ३१, सोमबार २०:१० बजे

मकवानपुर – बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँट गर्न आग्रह गरे ।

उनले अब सरकारले केही हप्ताअघि प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवाः (नेपाल) भाषा र तामाङ भाषाको दैनिक प्रयोगको प्रदेश सभाबाट शुभारम्भ हुनुपर्ने सुझाव दिदै अब प्रदेशसभाका सदस्यहरुले बोलेका सुझाव र भनाइलाई ती भाषामार्फत प्रसारण गर्न आग्रह गरे ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक मधुसूदन पौडेलले सबै प्रदेशमा सहकारीको समस्या निकै जटिल हुनु पुगेकाले अब सामूहिकरुपमा सर्वसाधारण नागरिकको बचत रकम फिर्ता गर्नेतर्फ सङ्घीय सरकार र प्रदेशले समन्वय गरेर दीर्घकालीन निकास दिनेतर्फ पहल गर्नुपर्ने सुझाव दिए । उनले प्रतिपक्षले सरकारलाई र सरकारले प्रतिपक्षलाई आरोप–प्रत्यारोप र टिप्पणी गर्ने प्रवृत्तिलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी) केन्द्रका सरल सहयात्री पौडेलले प्रदेश सरकारले सुशासन ल्याउन रोजगारी र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेर बजेटलाई जनमुखी बनाउपर्नेतर्फ केन्द्रित हुनुपर्ने सल्लाह दिए । उनले प्रदेशमा भौतिक विकास, सडक, सिँचाइ, खानेपानी र योजनालाई कार्यान्वयन गर्न सम्बन्धित निकायले व्याहारिकरुपमा कार्यान्वयन गर्न नसकेकामा प्रदेश सरकारले अब आगामी बजेट बनाउने क्रममा ती सबै योजनालाई समीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पाटी ९राप्रपा० संसदीय दलका नेता उद्धव थापाले राप्रपाले आफ्ना आन्दोलनका क्रममा मृत्यु भएका एक नेतालाई सहिद घोषणा गर्नुपर्ने माग गरे । उनले प्रदेश सरकारले विगत केही महिना अघिदेखि आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको पद रिक्त हुँदा अहिलेसम्म पनि पदपूर्ति हुन नसक्दा आगामी बजेटको सिलिङ तर्जुमा गर्न निकै कठिनाइ भएकातर्फ सरकारलाई ध्यानाकर्षण गराए । बैठकमा एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले सङ्घीय सरकार र प्रदेश सरकारको मातहतमा रहेका प्रहरी संयन्त्र र निजामती कर्मचारीहरुले आफू इमान्दारीपूर्वक सरकारले दिएको जिम्मेवारी पूरा गर्नेतर्फ ढृढताका साथ अघि नबढेकाप्रति चिन्ता व्यक्त गरे ।

उनले अहिले राजनीतिक समीकरणमा प्रतिशोधका कारणबाट प्रदेशमा इमान्दारीपूर्वक सरकारले आफ्नो जिम्मेवारीलाई बहन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री पदलाई मात्रै महत्व दिएर प्रदेशमा शान्तिसुरक्षा, मानव अधिकारको संरक्षण र जनतालाई सुशासनतर्फ विश्वास र भरोसा दिनेतर्फ जवाफदेही हुन नसकेकामा दुःख व्यक्त गरे । सो अवसरमा नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोरसाईले नेपालमा कम्युनिष्ट पार्टीको सरकार पटक(पटक बनेको भए पनि जनतालाई इमान्दारिपूर्वक सुशासन दिने, स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षालगायत भौतिक पूर्वाधारको विकासलाई दिगो व्यवस्थापन गर्न नसकेकामा जनता निराश भएका छन् भजे ।

उनले संविधानमा समाजवादको सिद्धान्तलाई व्याख्या गरिएको भएपनि राजनीति दलहरुले जनतालाई उनीहरुको व्यावहारिक जीवनमा समाजवादप्रतिको लक्ष्यलाई उजागर र अहिले ती जनतालाई न्यूनतम स्वास्थ्य उपचार र रोजगारीको अवसर उपलब्ध गराउन प्रदेश सरकारले बजेट, योजना, राष्ट्रिय गौरवको आयोजनालाई अब आत्मसमीक्षा गरेर कार्यान्वयन गर्न आग्रह गरे। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १ बजे अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । रासस