प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा गठबन्धनलाई एमालेको चुनौती, यस्तो छ अघिल्लो स्थानीय निर्वाचनको मतपरिणाम(तथ्यांकसहित)

२०७८ चैत्र २२, मंगलबार १५:२० बजे

हेटौंडा – अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले एमाले १७१ गाउँपालिका (एक निर्विरोधसहित) तथा १२३ नगर (नगरपालिका, उपमहानगर र महानगरपालिका) गरी २९४ स्थानीय तहमा जीत हात पारेको थियो । त्यस्तै मकवानपुरमा पनि ५ गाउँपालिका र एक उपमहानगर जित्दै पहिलो भएको थियो ।

स्थानीय तहको निर्वाचन आउँन करिब एक महिना बाँकी छन् । मकवानपुरमा सत्तारुढ दल गठबन्धन गरेर चुनाव लड्ने तयारीमा जुटेका छन् भने एमालेले पनि अन्य साना दलसँग गठबन्धन गर्ने तयारीमा छ । एकातिर पार्टी फुट र गठबन्धनबीच आगामी चुनावमा एमालेलाई कस्तो प्रभाव पर्ला ? के एमालेले आफ्नो शाख जोलाउला ? चर्चाको बिषय बनेको छ ।

पार्टी विभाजन भएपनि मकवानपुरमा एमालेको जनमत पहिलेको भन्दा बलियो रहेको अध्यक्ष एकलाल श्रेष्ठको दाबी छ । एमालेलाई सबै पालिका तथा वडास्तरमा हराउन निर्णायक मत रहेको नेकपा एसको दाबी छ । गठबन्धन भएपछि जिल्लामा शतप्रतिशत नतिजा गठबन्धनकै पक्षमा आउने गठबन्धनको भनाई छ ।

गठबन्धनको कारण एमाले अघिल्लो पटक जितेका केही पालिका र वडामा यसपटक गुमाउन सक्ने खतरा देखिन्छ । तर, अघिल्लो चुनावमा पाएको मत आधार मान्ने हो भने एमाले त्यति कमजोर पनि देखिदैन ।

अघिल्लो स्थानीय चुनावमा कांग्रेस–माओवादीवीच मकवानपुरको तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको थियो । गठबन्धन भएको तीनमध्ये एमाले हेटौंडा उपमहानगर र भीमफेदी गाउँपालिमा जित हातपार्दा थाहा नगरमा भने पराजित भएको थियो । बाँकी ७ स्थानीय तहमा भने एमाले, कांग्रेस, माओवादीलगायत पार्टीले आफ्नै उम्मेद्वार खडा गरी चुनावी मैदानमा उत्रिएको थियो ।

बाँकी ७ पालिकामध्ये एमालेले मकवानपुरगढी, कैलाश, इन्द्रसरोबर र मनहरीमा जितेको थियो । बकैया र बागमतीमा एमालेले अध्यक्ष गुमाउदा उपाध्यक्ष भने जितेको थियो । कांग्रेसले बकैयाको उपाध्यक्ष गुमाउदा थाहामा उपाध्यक्ष र राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । उता, माओवादीले बागमती र थाहा नगरको प्रमुख बाहेक एक पनि उपप्रमुख जितेको थिएन ।

अघिल्लो स्थानीय चुनावमा मकवानपुरमा एमालले ६ प्रमुख ८ उपप्रमुखसहित पहिलो, दुई प्रमुख र दूई उपप्रमुखसहित कांग्रेस दोस्रो र माओवादी केन्द्र दुई प्रमुख सहित तेस्रो भएको थियो ।
राजनीतिक घटनाक्रमले ५ वर्षअघि र पछि एउटै अवस्था हुन्छ भन्ने पनि छैन, तर चुनावी हारजितको विश्लेषणमा अघिल्लो निर्वाचनको मत परिणामको अर्थ राख्छ नै । सोही मत परिणामलाई आधार मानेर प्रहरखबर डटकमले मकवानपुरको स्थानीत तह र वडाको मत विश्लेषण गरेका छौँ ।

हेटौंडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरमा एमालेका उम्मेद्वार हालका मेयर हरिबहादुर महत २३ हजार १२४ मतसहित विजयी भएका थिए । उनले गठबन्धनका उम्मेद्वार कांग्रेसका आनन्दराम पराजुलीसँग ६१५ मतको अन्तरले विजयी भएका थिए । पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।

उपमेयरमा एमालेकी उम्मेद्वार मीनाकुमारी लामा जिल्लामा सबैभन्दा बढी मतान्तरले चुनाव जितेकी थिइन् । उनले गठबन्धनका उम्मेद्वार माओवादीका बलराम बललाई ६ हजार ४२६ मतले पराजित गरेकी थिइन् । लामाले २३ हजार ४३७ र बलले १७ हजार ११ मत ल्याएका थिए ।

hetaua–111

भीमफेदी गाउँपालिका
एमालेबाट भीमफेदीमा अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले जितेका थिए । अध्यक्ष हिदमले गठबन्धनबाट माओवादीको उम्मेद्वार रन्जितकुमार रानालाई १४४ र उपाध्यक्ष पार्वतीले कांग्रेसको उम्मेद्वार सोमलाल द्वोङलाई ३६७ मतान्तरले हराएका थिए । एमालेबाट हिदमले ३ हजार ८४२ र पार्वतीले ३ हजार ८०२ मत प्राप्त गरेका थिए । उता गठबन्धनबाट रन्जितले ३ हजार ६९८ र सोमलालले ३ हजार ४३५ मत ल्याएका थिए ।

bhmphedi

इन्द्रसरोबर गाउँपालिका
इन्द्रसरोबरमा एमालेबाट अध्यक्षमा जीवन लामा ९३१ र उपाध्यक्षमा उमाकुमारी लामा १ हजार १०९ मतान्तरले विजयी भएका थिए । अध्यक्षमा जीवनले कांग्रेसका विश्वलाल लामा र उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी डंगोललाई पराजित गरेका थिए । एमालेका जीवनले ३ हजार ४ र उमाकुमारीले ३ हजार १९० मत ल्याएका थिए भने कांग्रेसका विश्वलालले २ हजार २७३ र लक्ष्मीले २ हजार ८१ मत प्राप्त गरेका थिए ।

indrasarobar

कैलाश गाउँपालिका
कैलाशमा एमालेका टंक मोक्तानले अध्यक्षमा ४४३ र सुकुमाया थिङले उपाध्यक्षमा ३७५ मतान्तरले चुनाव जितेका थिए । उनीहरुले कांग्रेसका लोकबहादुर मुक्तान र मीरा स्याङतानलाई पराजित गरेका थिए ।

kailas

मनहरी गाउँपालिका
मनहरीमा कांग्रेसका शंकर न्यौपानलाई ३०९ मतले पराजित गर्दै एमालेका एकराज उप्रेती अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा एमालेकी मनिला बिष्टले कांग्रेसकै कमला कार्कीलाई ४६४ मतान्तरले जितेकी थिइन् ।

manahari

मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढीमा एमालेका अन्य पालिका भन्दा झिनो मतान्तर जितेको थियो । अध्यक्षमा विदुर हुमागाईंले कांग्रेसका दोर्जे लामा स्याङतानलाई १६१ मतान्तरले पराजित गरेका थिए । उपाध्यक्षमा हर्कमाया रुम्बाले कांगेसकै मन्दिरा केसीलाई १० मतले पराजित गरेकी थिइन् ।

gadhi

बकैया गाउँपालिका
यहाँ कांग्रेसका दामोदर खनाल ७२ र एमालेकी सरला बोलखे १९१ मतको झिनो अन्तरले विजयी भएका थिए । खनालले एमालेका दलबहादुर वाईबा र बोलखेले कांग्रेसकी कमलाकुमारी वाईबालाई पराजित गरेका थिए ।

bakaiya

राक्सिराङ गाउँपालिका
राक्सिराङमा कांग्रेसका राजकुमार मल्ल ५९५ र निर्मला हिम्डुङ्ग ५८५ मतान्तरले एमालेका उम्मेद्वारलाई पराजित गरेका थिए । एमालेबाट अध्यक्षमा लालबहादुर थापा मगर र उपाध्यक्षमा सुन्तलीमाया प्रजा पराजित भएका थिए ।

raksirag

बागमती गाउँपालिका
बागमतीमा माओवादीका सर्केश घलान र एमालेकी धनमाया स्याङतान झिनो मतले विजयी भएका थिए । घलानले १३५ मतले एमालेका राजकुमार तिमल्सिनालाई पराजित गर्दा एमालेकी स्याङतानले माओवादीकै बच्चु गोले (खड्का) लाई ४ मतले हराएकी थिइन् ।

bagmati

थाहा नगरपालिका
थाहामा गठबन्धनबाट माओवादीका लवशेर विष्टले एमालेका विष्णुप्रसाद ढकाललाई २ हजार ५४२ मतले जितेका थिए । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका खड्गबहादुर गोपालीले एमालेकै कल्पना बलामीलाई ६०० मतले हराएका थिए ।

thaha

वडापालिकाः ५० एमाले, ३१ कांग्रेस, माओवादी २० र १ स्वतन्त्रत
मकवानपुरमा रहेको १०२ वडामध्ये नेकपा एमालेले सबैभन्दा बढी ५० वटामा जितेको थियो । १० पालिकामध्ये एमालेले हेटौंडामा सबैभन्दा धेरै १२ वडा, थाहा र भीमफेदीमा ६, बकैयामा ५, इन्द्रसरोबर, मकवानपुरगढी, कैलाश, र मनहरीमा ४–४ वटा वडा जितेको थियो भने राक्सिराङमा ३ वटा वडामा विजय हासिल गरेको थियो ।

कांग्रेसले ३१ वटा वडामा जित हासिल गरेको थियो । १० पालिकामध्ये हेटौंडा, बकैया र राक्सिराङमा पाँच–पाँच वडामा जितेको थियो भने कैलाश र गढीमा चार–चार वटा वडामा जितेको थियो । त्यस्तै बागमतीमा तीन, मनहरी र भीमफेदीमा दुइ–दुई, इन्द्रसरोबरमा एक वडामा जित्दा थाहामा खाता समेत खाल्न सकेन ।

माओवादीले २० वटा वडामा जितेको थियो । थाहामा ६, बागमतीमा ४ जित्दा हेटौंडा, बकैया, कैलाश र मनहरीमा दुई–दुई वटा वडामा जितेको थियो । त्यस्तै राक्सिराङ र भीमफेदी एक–एक वडा जितेको थियो भने इन्द्रसरोबर र गढीमा खाता समेत खेल्न सकेन । मनहरीको वडा नं.९ मा एमालेका बागी उम्मेद्वार साधुराम अधिकारीले जितेका थिए ।

वडामा यस्तो छ मतान्तर
मकवानपुरको १० स्थानीय तहमा जितेको ५० वडामध्ये एमालेले १२ वडामा ५१ भन्दा कम मतान्तरको जित हात पारेको थियो । १० वडामा एमालेले ५१ देखि १०० सम्मको मतान्तरले जीत हात पार्दा १३ वडामा १०१ देखि २०० सम्मको मतान्तरले एमाले उम्मेद्वार विजयी भएका थिए ।

४०० भन्दा कम मतान्तरले एमालेका वडाध्यक्षको संख्या ९ र ४०१ देखिमाथि मतान्तर जित्ने वडाध्यक्ष ५ जना रहेको थियो । वडाध्यक्षमा सबैभन्दा कम र बढी मतान्तरले जित्ने एमालेकै रहेका छन् ।

कांग्रेसले जितेको ३१ वडामध्ये ५१ भन्दा कम मतान्तर ७ वटा वडा रहेको छ । ८ वडामा ५१ देखि १००, ११ वडामा १०१ देखि २०० को मतान्तर रहेको छ । त्यस्तै ४०० भन्दा कम मतान्तरले कांग्रेसका वडाध्यक्षको संख्या ४ र ४०१ देखिमाथिको १ मात्रै रहेको छ ।

माओवादीमा जितेको २० मध्ये ५ मा ५१ भन्दा कम, ५ वडामा ५१ देखि १०० मतको अन्तर रहेको छ । त्यस्तै ४ वडामा माओवादीले १०१ देखि २०० सम्मको मतान्तरले जीत हात पार्दा ४ वडामै २०१ देखि ४०० र २ वडामा ४०० भन्दामाथिको अन्तर रहेको छ ।

123 copy

जिल्लाको वडापालिकामा सबैभन्दा कम र सबैभन्दा बढी मतान्तरमा जित्ने पनि एमालेकै उम्मेद्वार छन् । बकैया गाउँपालिका वडा नं. १२ मा एमालेका रामबहादुर मुक्तानले कांग्रेसका संजय लामालाई २ मतले पराजित गरेका थिए । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा एमालेका लक्ष्मणप्रसाद भण्डारीले कांग्रेसका विश्वराज शर्मा नेपाललाई ८७९ मतान्तरले पराजित गरेका थिए ।

प्रतिद्वन्दी पालिकाः कांग्रेस ५, एमाले ४ र माओवादी १
जिल्लामा अघिल्लो चुनावमा दुई पालिको प्रमुख जितेको कांग्रेस ५ वटा पालिकामा निकटतम् प्रतिद्वन्दी रहेको छ । ६ पालिकामा जितेको एमाले पराजित ४ वटै पालिकामा निकटतम् प्रतिद्वन्दी रहेको छ भने माओवादी एउटा पालिकामा मात्रै प्रतिद्वन्दी रहेको छ । त्यस्तै उपाध्यक्षतर्फ कांग्रेस ६, एमाले र माओवादी समान २–२ पालिकामा निकटतम् प्रतिद्वन्दी रहेको छ ।

वडामा कुन पार्टी कति वडामा प्रतिद्वन्दी ?
जिल्लाको अघिल्लो चुनावमा स्वतन्त्रसहित ५० वडा जितेको एमाले ३९ वडामा निकटतम् प्रतिद्वन्दी रहेको छ । त्यस्तै कांग्रेस ३८, माओवादी केन्द्र १८, राप्रपा ५ र राष्ट्रिय जनमोर्चा १ वडामा प्रतिद्वन्दी रहेको छ ।

table22 copy (1)

अघिल्लो पटक निकटत्म प्रतिद्वन्दी रहेको र झिनो मतान्तर भएको स्थानलाई अब जित्नसक्ने स्थानको सूचीमा राख्ने गरिन्छ । तर, गठबन्धन र विभाजन हकमा भने मतान्तर झनै बढ्ने खतरा बढी हुन्छ । आगामी चुनावमा गठबन्धनले धेरै वडामा बाजी मार्न सक्ने देखाउछ भने एमालेले आफुले जितेको वडाको साख जोगाउन धौधौ नै पर्ने अवस्था छ ।

अघिल्लो चुनावको मत परिणामलाई आधार मान्ने हो भने गठबन्धन एमालेमाथि पालिकादेखि वडासम्मै हाबी हुने देखिन्छ । तर, हेटौंडा र भीमफेदी मतपरिणामले गठबन्धनलाई हच्काएको छ । यसले गठबन्धन दलको उम्मेद्वार र एमालेको उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

बदरमत कति हुन्छ ? नयाँ मतदाताको रोजाईमा कस्ता छ ? र पार्टीले कस्तो ब्यक्तिलाई उम्मेद्वार बनाउँछ ? स्थानीय तहको चुनावमा त्यो महत्वपुर्ण पाटो हो । गठबन्धनको प्रभाव र फुटले कति क्षती पुग्छ ? त्यसको लागि बैशाख ३० पछिको मत परिणामले नै प्रष्ट हुन्छ ।

गठबन्धनलाई मत बदरको चुनौती
अघिल्लो स्थानीय निवार्चनमा बदर मत अत्यधिक छ । स्थानीय तहमा बदर मतकै कारण हार व्यहोर्नु परेको अबगत नै छ । मत बदर एकल भन्दा विशेष गरी गठबन्धनको उम्मेद्वारमा हुने गर्दछ । विगतको आंकडा अनुसर यसपटक पाँच दलको गठबन्धनमा बढी मत बदर हुन सक्ने देखिन्छ ।

मकवानपुरमा गएको स्थानीय चुनावमा सबैभन्दा बढी मत बदर हेटौंडामा उपमहानगरमा भएको थियो । मत बदरकै कारण गठबन्धनको उम्मेद्वार पराजित हुनु परेको थियो । तर, निर्वाचन कार्यालयले आफ्नो वेवसाईटमा हेटौंडा र थाहा नगरको सदर र बदर मत नै सार्वजनिक गरेको छैन ।

त्यस्तै खसेको मतको इन्द्रसरोबरमा ७.६१, बागमतीमा ३.५१, कैलाशमा ३.१६, बकैयामा २.५८, मकवानपुरगढीमा २.३३, भीमफेदीमा २.२३ र मनहरीमा सबैभन्दा कम १.८१ प्रतिशत मत बदर भएको थियो ।
त्यसैगरी अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं.१ मा ५.१६५ र २ मा ४.७७१ प्रतिशत मत बदर भएको थियो । उता प्रदेशसभातर्फ क्षेत्र नं.१ को (क) मा ३.२३, (ख) मा ४.९९, क्षेत्र नं.२ (क) मा २.९५ र (ख) मा ४.३२ प्रतिशत मत बदर भएको थियो ।

कति थपिए नयाँ मतदाता
पछिल्लो पाँच वर्षमा मकवानपुरमा थपिएको ६७ हजार १ सय ६० मतदाता निर्णायक हुने देखिन्छ । केही पालिकाको प्रमुखमा जित्दा पाएको मत बढी मतदाता स्थानीय तहमा थपिएका छन् । निर्वाचन कार्यालयको आँकडा अनुसार सबैभन्दा बढी हेटौंडामा २० हजार ८७६ मतदाता थपिएका छन् ।

त्यस्तै बकैंयामा ९ हजार ९३४, मनहरीमा ८ हजार १७, बागमतीमा ६ हजार २७९, मकवानपुरगढीमा ४ हजार ७८८, थाहामा ४ हजार ६४०, राक्सिराङमा ३ हजार ३ हजार ६९९, भीमफेदीमा ३ हजार ५८६, कैलाशमा ३ हजार ७५ र इन्द्रसरोबरमा २ हजार २६६ मतदाता थपिएका छन् । हाल जिल्लामा २ लाख ९४ हजार ९१९ मतदाता रहेका छन् भने अघिल्लो स्थानीय चुनावमा २ लाख २७ हजार ७ सय ५९ मतदाता थिए ।

गठबन्धनमा उम्मेद्वार छनोटमा चुनौती, एमालेलाई अवसर
स्थानीय निर्वाचन जित्न पार्टीकै उम्मेद्वार हुनपर्छ भन्ने छैन । त्यो मनहरी–९ मा स्वतन्त्र उम्मेद्वारी दिएका वडाध्यक्ष साधुराम तिमल्सिनाले पुष्टि गरेका छन् भने अध्यक्ष एक पार्टी जित्दा उपाध्यक्ष अर्कै पार्टीको उम्मेद्वारले जितेको । त्यस्तै वडामा पनि वडाध्यक्ष र वडा सदस्य फरक–फरक पार्टीको निर्वाचित भएका पनि छन् ।

गठबन्धनमा भागबडाको कुरा हुने भएकोले राम्रो उम्मेद्वारहरु ओझेलमा पर्न सक्ने भएकोले उम्मेद्वार छनोटमा चुनौती हुनुसंगै मतपरिणाममा समेत असर पर्ने विश्लेषकको तर्क छ । उता, अग्निपरीक्षामा रहेको एमालेलाई भने राम्रो भन्दा राम्रो उम्मेद्वार उठाएर चुनाव लड्नु बाहेकको विकल्प छैन । भागबण्डाको लफडामा नपर्ने भएकोले यसलाइ एमालेले अवसरकै रुपमा लिनुपर्ने हुन्छ ।