प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

२०८१ कार्तिक ३०, शुक्रबार ०९:३८ बजे

मकवानपुर — पुर्व पश्चिम राजमार्गमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ शिविरमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। चितवनबाट हेटौंडा तर्फ जाँदै गरेको प्र.३-०३-००१प ००३६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका ६० वर्षीय शिव प्रसाद बर्तौलालाई ठक्कर दिँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते बर्तौलालाई मनहरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रेफर गरिएको छ। उनको टाउको र हातखुट्टामा चोट लागी मध्यम अवस्था रहेको जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका-५, छपेली निवासी २७ वर्षीय सुशान्त गजमेर पनि घाइते भएका छन्। उनको हातखुट्टामा चोट लागी मनहरी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।