मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताएका छन् ।
मंगलबार माघ १६ मा सहिद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिने वीर शहिदहरुलाई एक दिन मात्र सम्झिएर उनीहरुले देखेका सपना साकार पार्न नसकिने बताएका छन् । ‘सहिदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्दछ । ’ प्रमुख शर्माले भने ।
नेपालका वीर सपुतहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उनीहरुको बलिदानको सम्मानमा सहिद दिवस मनाउँदै आइएको उल्लेख गर्दै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरु वीर सपुतहरुकै बलिदानबाट सम्भव भएको बताए ।
‘राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु ।’ प्रमुख शर्माले भनेका छन् ।