हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, बुद्धचोकमा सुमो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा अस्पतालबाट सिमाचोकतर्फ जाँदै गरेको बिएइ ०६३० नम्बरको सुमोले कर्राचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ३९ प ९९३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलका ३५ वर्षीय संजय पौडेल घाइते भएका छन्।
घाइते पौडेलको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। प्रारम्भिक उपचारका लागि उनलाई हेटौंडा अस्पताल लगाइएको थियो। थप उपचारका लागि राति ११:४० बजे भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ । जहाँ हाल उनको उपचार भइरहेको छ।
दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ। दुबै सवारी साधन र सुमोका चालक हेटौंडा उपमहानगरपालिका–७, स्मृतिटोलका ५० वर्षीय देवराज फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको हेटौंडा प्रहरीले जनाएको छ।