वाग्मती - वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट देशको राजधानी काठमाण्डौँ प्रवेश गर्ने छोटो नाकाको रुपमा रहेको हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक मर्मतको कार्य २ महिनाभित्र सम्पन्न गर्नको लागि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिनुभएको छ । राजधानी संग जोड्ने ६ वटा सडक मर्मत कार्य गर्नुपर्ने भएतापनि तत्कालको लागि १ सडक सम्पन्न गर्न उहाँले बैठक आयोजना गर्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले भैंसे–भिमफेदी र हुमाने–फर्पिंग खण्डको काम सम्पन्न गर्नको लागि सडकमा यातायात नै बन्द गरेर कार्य गरिने बताउनुभयो । उक्त कार्यको लागि बैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात ब्यबसायीहरुलाई सरकारले निशुल्क रुट परकिटको ब्यबस्था गर्नुको साथै परमिटको म्याद नाघेमा पनि जरिवाना नलिने बताउदै ब्यबसायीहरुले पनि भाडादर यथावतै राख्नुपर्ने र सुरक्षित गराउनुपर्ने भन्दै उहाँले यातायात ब्यबसायीहरुलाई बताउनुभयो । सुरक्षा ब्यबस्था कायम गर्नको लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी कार्यालय लगाएतका कार्यालयहरुलाई समेत निर्देशन दिनुभयो । साथै बैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लांग–मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सुचारु गर्ने उहाँले बताउनुभयो ।
यसको साथै भीमफेदी– भैंसे खण्ड ११ कि.मि. हुमाने फर्पिङ्ग खण्ड– ७.५ कि.मि., दक्षिणकाली– छैमले खण्ड – ८ कि.मि., प्रदेश राजधानी आयोजना छैमले– सिस्नेरी खण्ड ११ कि.मि को कार्य पनि भैरहेको उहाँले जनाउनुभयो ।
बैठकमा भौतिक पुर्बाधार विकास मन्त्री युवराज दुलालले काम गर्ने क्रममा प्रदेश सरकारले निर्माण कम्पनिलाई आबश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको भेटिएमा कडा कारबाही गर्ने बताउनुभयो । पहुँचको आधारमा पेल्न खोज्ने कम्पनीहरुलाई पनि प्रक्रियामा लगेर समयमा काम सम्पन्न गर्ने उहाँको भनाई रहेको छ ।