काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायती नागरिक(पुरुष) को आवरणमा नेपाली युवतीलाई ठगी गरेका ललितपुरको महालक्ष्मी नगरपालिका–१ की अञ्जली बिसुन्केलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालबाट आफू बेलायती नागरिक फ्य्राङ्कलिन पाउलको परिचय दिई बिसुन्केले विभिन्न नेपाली युवतीसँग कुराकानी गर्ने गरेको खुलेको छ ।
परिचय गर्नेक्रममा अञ्जली बिसुन्केले आफ्नो बेलायती श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने भन्दै युवतीलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत आफू एकल पुरुष रहेको र नेपाल आएर विवाह गरी बेलायत लैजाने भन्दै प्रलोभनमा पार्ने गरेको पीडितले उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।
साथै पक्राउ परेकी बिसुन्केले स्वाट्सएपमार्फत ७० हजार अमेरिकी डलरबराबरको सामान पठाएकोलगायतका प्रलोभन दिई पीडितसँग १५ लाख २० हजार रुपियाँबराबरको ठगी गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । पीडितको परिचय भने खुलाइएको छैन ।