प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मौसमी श्रमिकमा जाने बिचौलियाको भ्रममा नपर्न आग्रह

२०७९ फाल्गुन १६, मंगलबार ०३:४१ बजे

काठमाडौं – वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा  दक्षिण  कोरियालगायत  कुनै  पनि  देशमा  पठाउँछु  भन्ने  बिचौलियाको  भ्रममा  नपर्न  आग्रह  गरेको छ ।

पछिल्लो समय मौसमी श्रमिक रूपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनामा विश्वास नगर्न विभागले सोमबार जारी सूचनामार्फत आग्रह गरेको हो ।

मौसमी श्रमिक व्यवस्थापन निर्देशिका–२०७९ को दफा ४ अनुसार मौसमी श्रमिकमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ तर यो व्यवस्थाविपरीत  प्रलोभन  देखाई  केही  संस्था  वा  व्यक्तिले पैसा असुलेर ठग्ने क्रम बढेको पाइएकाले यसप्रति सचेत हुन विभागले आग्रह गरेको छ । 

निर्देशिकाबमोजिम नेपालबाट मौसमी श्रमिक लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएकोबारे पनि विभागले प्रस्ट पारेको छ ।

यस्तै कसैले मौसमी श्रमिकमा पठाइदिने भन्दै पैसा मागेमा सम्बन्धित पालिकामा, विभागमा वा श्रम, रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालयको  कल  सेन्टरमा  फोन  गरेर  बुुझ्नसमेत  विभागले  सूचनामार्फत जानकारी गराएको छ ।