काठमाडौं – आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।
ओपनर सैयद अजीजले ६८ र जुबैदी जुल्किफले २४ रन बनाउँदै मलेसियालाई शानदार सुरुआत दिलाएका थिए । तर त्यसपछिका ब्याट्सम्यान खासै जम्न सकेनन् । नेपालका अविनाश बोहोराले ४ विकेट लिए । रोहित पौडेल, गुल्सन झा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।
नेपाल प्रतियोगिताको समूह एमा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् । समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।