प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मकवानपुरमा ५३० पदका लागि १९ सय ३१ उम्मेदवार मैदानमा , कुन पालिकामा कति ?

२०७९ बैशाख २६, सोमबार १०:३४ बजे

हेटौंडा – बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मकवानपुरको १० स्थानीय तहमा ५ सय ३० पदका लागि १ हजार ९ सय ३१ जनाको उम्मेदवारीहरुबिच प्रतिस्पर्धा हुने भएको छ । दुई प्रमुख पदमा ४४, आठ अध्यक्ष पदमा ५०, उप्रमुख पदमा १२ र उपाध्यक्ष पदमा ३२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार एक सय दुई वडाअध्यक्ष पदमा ४३५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुई सय चार खुल्ला वडासदस्यको पदमा ७२८, एक सय दुई महिला वडासदस्य पदमा ३ सय ५० र एक सय दुई दलित महिला वडासदस्यमा ३०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

बैशाख ११ र १२ गते मनोनयन दर्ताको दिन २ हजार ६७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये १ सय ३६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

कुन पालिका कति ?
जिल्लाको १० पालिका मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ९७ पदका लागि ३ सय ८७ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा २७ पदका लागि ८९ जनाको उम्मेदवारी परेको छ ।

समान ६२ पदका लागि थाहा नगरपालिकामा २ सय ४० र बकैया गाउँपालिमा २ सय ३४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै समान ४७ पदका लागि मनहरी गाउँपालिकामा २ सय २१, बागमती गाउँपालिकामा १ सय ६७, राक्सिराङ गाउँपालिकामा १ सय ५१ र भिमफेदी गाउँपालिकामा १ सय ३५ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी कैलाश गाउँपालिकामा ६२ पदका लागि १ सय ७३ र मकवानपुरगढी गाउँपालिकामा ४२ पदका लागि १ सय ३४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जिल्लाको सबैभन्दा धेरै वडा हेटौंडा उपमहानगरमा १९ वटा वडा रहेका छन् । थाहा नगर/बकैयामा १२/१२, कैलाशमा १०, बागमती/मनहरी/राक्सिराङ/भिमफेदीमा ९/९, मकवानपुरगढीमा ८ र सबैभन्दा कम इन्द्रसरोबरमा ५ वटा वडा रहेका छन् ।

जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेको छ । जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् ।