हेटौंडा – गत बर्षको अन्त्य र यस बर्षको सुरुवातीमा वनजङ्गलले ठुलो डढेलोको मार खेप्नु पर्यो । त्यसबाट मकवानपुरका वन अझुतो रहन सकेनन् । जिल्लाको १ लाख ६६ हजार ५३३ हेक्टर वन क्षेत्र मध्य अधिकांश डढेलोले खरानी बनायो ।
जिल्लामा ३०० सय वढी सामुदायिक वन छन् । जुन डिभिजन वन कार्यालय, मकवानपुर र राप्तीको अधिनमा छ । दुबै कार्यालयबाट प्राप्त जानकारी अनुसार ३ हजार ८४८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको बताईएको छ ।
डिभिजन वन कार्यालय, मकवानपुर अन्तर्गत रहेको वनमा गत बर्षको चैतसम्ममा २ हजार ६४८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको प्रमुख शिव सापकोटाले बताए । त्यस्तै डिभिजन वन कार्यालय, राप्तीतर्फ गत बर्षदेखि यस वैशाखसम्ममा १ हजार २०० हेक्टर वनमा डढेलो लागेको प्रमुख विष्णु आचार्यले जानकारी दिए ।

डढेलोबाट साना बोट विरुवामा क्षति ।
२७ बर्ष यताकै ठुलो डढेलो
वन डढेलो देख्ने स्थानीयहरु भन्थे, ‘वनमा यसरी डढेलो लागेको अहिलेसम्म देखेको थिएन।’ स्थानीयहरुले भने जस्तै, मकवानपुरको बन क्षेत्रमा २७ वर्ष यताकै सबैभन्दा ठुलो डढेलो लागेको डिभिजन वन कार्यालय, राप्तिका प्रमुख विष्णु आचार्यको दाबी छ । ‘अघिल्लो बर्ष वन डढेलो एकदम न्यून थियो, यस पटकको वन डढेलो २७ वर्ष यताकै धेरै हो,’ उनले भने ।
क्षति भयो कति ?
डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । त्यस्तै वनका साना बिरुवा, पातपतिङ्गर, साना बुट्यिान वनका चराचुरुङ्गी, विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् भने एउटा मृग जलेर मरेको डिभिजन वन कार्यालय मकवानपुका प्रमुख सापकोटाले जानकारी दिए । दुबै कार्यालयका प्रमुखले मानविय क्षति नरहेको र विक्री योग्य चिरान काठ तथा दाउरा सुरक्षित स्थानमा राखिएकोले क्षति हुनबाट जोगिएको बताएका छन् । ठुला रुखमा खासै क्षति नभएको उनीहरुको भनाई छ ।

वन डढेलोबाट जलेर मृत्यु भएको जंगली जनावर ।
नीजि सम्पतिमा क्षति
वन डढेलोबाट सल्केको आगोले नीजि सम्पतिमा क्षति नभएको दुबै वन कार्यालय प्रमुख दाबी छ, तर वनबाटै सल्केको आगोले चार परिवारको घर तथा गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनले उपलब्ध गराएको तथ्याङ्क अनुसार वनकै डढेलो सल्केर बकैया र कैलाशमा दुईरदुई घर तथा गोठ जलेर नष्ट भएको हो । आगलागीबाट २० लाख भन्दाबढी नीजि धनमाल नष्ट भएको उनको दाबी छ ।
मान्छेले नै लगाउँछन् वनमा आगो
वन क्षेत्रमा लागेको डढेलो मानिसकै कारण लागेको दुबै डिभिजन वन कार्यालयका प्रमुखको दाबी छ । वनमा आगो लगाउनेमा सबैभन्दा बढी लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने मानिसहरु रहेको उनीहरु बताउँछन् । वनमा डढेलो लगाउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कानुनी कार्यवाही समेत गरिएको डिभिजन वन कार्यालय, राप्तिका प्रमुख आचार्यले बताए । उनीहरुमध्य एक जनालाई ३० हजार जरिवाना समेत गरिएको उनले बताए ।

वनमा लागेको डढेलो नियन्त्रण गर्दै स्थानीय र वनका कर्मचारीहरु ।
किन लाग्यो धेरै डढेलो ?
हिउँदे बर्षा कम हुनु, वनमा प्रज्वालनशील पदार्थ अत्याधिक हुनु, सुख्खा मौसम, पतझ्ड प्रजातीको जङ्गल, नयाँ घाँस पलाउने आश, सलाई, लाईटर, चुरोट बिडी लगायतको लापरवाहीपूर्ण प्रयोगले गर्दा वनमा डढेलो बढी लागेको डिभिजन वन कार्यालय, राप्तिका प्रमुख आचार्य बताउँछन् । पछिल्लो समय वनको बिषयमा उपभोक्ताको सक्रियता कम हुनु पनि डढेलोको कारण रहेको उनको अनुभव छ ।
डढेलो नियन्त्रण योजना फेल
डढेलो नियन्त्रणका लागि नेपाल सरकारको योजना अनुसार राप्ति र मकवानपुर डिभिजन कार्यालयमा १०/१० जना फायर फाइटर भर्ना गर्यो । तर, वन डढेलो रोकथाममा भने विफल नै भए । त्यो जिल्लाको वनमा लागेको २७ बर्ष यताकै धेरै डढेलो नै पुष्टि गरेको छ ।

रानी सामुदायिक वनमा लागेको डढेलो
के गरे कमि आउँछ ?
सरकारले वनजन्य पदार्थमा प्रयोगमा स्थानीयमाथि कडाई गरेपछि वनजङ्गल प्रतिको माया घट्दै गएको जानकार व्यक्तिहरु बताउँछन् । ‘एकोहोरो रोटी पाक्दैन’ भने झै, सामुदायिक वन प्रयोगमा सहज बनाउने र वनको कच्चा पदार्थलाई आयआर्जनको रुपमा प्रयोग गरेर वन डढेलोमा कमि आउने जानकारहरुको भनाई छ ।
कहाँ कति डढेलो लाग्यो ?
डिभिजन वनका कर्मचारीहरुका अनुसार स्थानीय तहमा सबैभन्दा बढी वकैया, बामगती र हेटौंडा उपमहानगरमा क्षेत्रका वनमा बढी देखिएको बताउँछन् । राक्सिराङ, कैलाश, मकवानपुरगढी र भिमफेदीमा पनि वन डढेलो अत्याधिक भएको छ भने अन्य पालिकाको तुलनमा थाहा, मनहरी र इन्द्रसरोवरमा अलि कम रहेको बताईएको छ ।

डढेलो लागेको वनमा घाँस उम्रिदै ।
यस वैशाखसम्म जिल्लामा कहाँ कति डढेलो लाग्यो रु डिभिजन वन मकवानपुर र राप्तीले बैशााखसम्मको अनुमानित आएपनि वास्तविक तथ्याङ्क संकलनको काम भइरहेको जनाएको छ । मकवानपुरको दुई डिभिजन वन कार्यालयमा ८र८ वटा सव–डिभिजन छन् । जसमा राप्तीको अधिनमा २०० वटा र मकवानपुरको अधिनमा १०७ वटा सामुदायिक वन रहेका छन् ।
यस्तो छ डिभिजन वन मकवानपुरको गत चैतसम्मको तथ्याङ्क
सव–डिभिजन छतिवन – २०२.५० हेक्टर
सव–डिभिजन वकैया – १०९५ हेक्टर
सव–डिभिजन मकवानपुरगढी – ८०.५० हेक्टर
सव–डिभिजन भिमफेदी – २० हेक्टर
सव–डिभिजन राईगाउँ – २१७ हेक्टर
सव–डिभिजन बागमती– ७८५ हेक्टर
सव–डिभिजन हर्नामाडी – १८० हेक्टर
सव–डिभिजन हेटौंडा – ५० हेक्टर
डिभिजन वन राप्तिको सव–डिभिजनगत बिवरण आउँन बाँकी छ ।